गोरे भन्छन् : विमानस्थलमा सेटिङ मिलाउन एसएसपी खत्री मुख्य नाईके

“
काठमाडौं जेठ, १३ । सुन तस्करीका मुख्य नाईके भनिएका चुडामणि उप्रेती गोरेले ३८ क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री मुख्य नाईके भएको खुलाएका छन् ।
बयानमा गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकारे तर, आफू नाइके नभएको दाबी समेत गरेका छन् ।
सुुन तस्करीमा गोरेले खत्रीको प्रत्यक्ष संलग्नता रहेको खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ ।
गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका छन् । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले भनेका छन्, ‘दुबईबाट भरियामार्फत झोलामा सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । सो पछि कुनै चेकजाँच हुँदैनथ्यो । सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जान्थ्यो । झोला त्यही छाडिदिन्थे ।’
प्रहरी हाकिम कहाँ छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । उनले भने, ‘दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुन्थ्यो । सुन सिधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।’
गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार निज आफैंले बुझ्थे’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको छ ।’
गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो ।
खत्री अहिले फरार छन् । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए ।
उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ ।
“








