संसदको बैठक आज बस्दै, समय अगाडि नै विघटन गर्ने तयारी

काठमाडौं, असोज २६ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अब २ दिन संसदको बैठक बसेर संसद नै विघठन गर्ने तयारी भएको छ । सभामुख ओनसरी घर्तिमगरले आज र भोलि सदन चलाएर संसद विघटन गर्ने तयारी गर्नुभएको छ ।
सरकारले चाहेका र अत्यावश्यक विधेयकहरु यो दुई दिनको संसद बैठकमा छलफलसहित पारित गरिसक्ने र सदन अन्त्य गर्ने तयारीमा सभामुख रहनुभएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सभामुख घर्तिले सदनको समय सकिन लागेकाले जतिसक्दो छिटो अत्यावश्यक कानुन तथा विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको थियो । अब, राष्ट्रिय सभा गठन सम्बन्धी विधेययक संसदबाट पारित हुन बाँकी छ ।
सरकारकै कारण यो विधेयक पारित हुन ढिलाई भएको संसद सचिवालयको भनाइछ । संविधानसभाबाट संविधान निर्माण गर्ने अभिभारासहित २०७० साल मंसिर ४ गते भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले नेपालको संविधान २०७२ जारी गरेको थियो । संविधान जारी भएपछि रुपान्तरित संसदमा रुपान्तरण भएको संसदको समय कात्तिक ४ गते सकिदैछ ।
तर, समय अगाडी नै संसद विघटन गर्न लागिएको हो । विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संससमा नै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो । आज त्यो विधेयक पनि संसदमा लैजाने तयारी छ । संसदको बैठक बिहान ११ बजे बस्दैछ ।








