श्रम सम्झौता पछि एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव

“
काठमाडौ, जेठ १३ । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ ।
उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ ।
अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छन् ।
रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको बताएका छन् ।
उनले केही समयभित्रै सरकारले यस विषयमा निर्णय लिने जानकारी दिएका छन् । साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताएका छन् ।
शर्माले भनेका छन्, ‘साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको छ । नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिँदै छ ।’
नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए ।
कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिएका छन् ।
“








