काठमाडौँ महानगरले खाली गरायो धरहरा क्षेत्रका रेष्टुरेन्ट र पसल

काठमाडौं,जेष्ठ १२ । काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका रेष्टुरेन्ट र पसल खाली गराएकोे छ। महानगरले शनिबार दिउँसो धरहरा क्षेत्रमा रहेका पसल र रेष्टुरेन्ट खाली गराएको हो। महानगरले २४ घण्टाभित्र खाली गराउन दिएको निर्देशन अटेरी गरेपछि नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गर्दै सो क्षेत्रलाई खाली गराएका हुन्।

यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन महानगरलाई भनेको थियो। प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो।

महानगरपालिकाले साइड वर्कश ट्रेडर्स प्रालिसँग धरहरा संचालन व्यवस्थापन प्रयोजनार्थ भएको सम्झौताको मुल विषयबस्तु २०७२ बैशाखमा आएको भूकम्पमा ध्वस्त भएको हुँदा उक्त सम्झौता स्वत समाप्त भएको भन्दै संरचना हटाएको हो।
नागर कार्यपालिकाको शुक्रबारको निर्णय अनुसार धरहरा परिसरमा भाडामा लगाइएका सटर, टहरा तथा रेष्टुराँका भौतिक संरचना २४ घण्टाभित्र हटाउन महानगरले निर्देशन दिएको थियो।

धरहरा क्षेत्रलाई १३ वर्षदेखि साइड वाकर्स ट्रेडर्स प्रालिले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको छ। साइड वाकर्सले धरहरा क्षेत्रमा सम्झौताविपरीत मःमः पसल, आइसक्रिम स्टल, बुटिक पसल, करिब एक दर्जन कपडा पसल सञ्चालन गरेर मासिक लाखौँ आम्दानी गर्दै आएको छ।

प्राधिकरणले धरहरा बनाउन टेन्डर समेत आह्वान गरिसकेको अवस्थामा महानगरले धरहरा क्षेत्रलाई खाली गराएको हो। विनाप्रतिस्पर्धा र महानगर परिषद्को स्वीकृतिबेगर तत्कालीन मेयर केशव स्थापितले २०६१ वैशाख ३१ गते २० वर्षका लागि धरहरा सञ्चालन तथा संरक्षणको जिम्मा साइड वाकर्सलाई दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =