संघीय गठवन्धनद्वारा आन्दोलनको घोषणा दोस्रो चरणको निर्वाचन प्रभावित हुनसक्ने


मकालु खबर, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको र यथास्थितिमा निर्वाचनमा जान नसकिने बताएको छ ।
राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेपनि मधेशवादी गठबन्धनले थप गरिएको संख्यामा बखेडा झिकेर यथास्थितिमा निर्वचनमा सहभागी नहुने र उमेद्वारी दर्ता प्रक्रियामा पनि अवरोध गर्ने जनाएको हो ।
शुक्रबार बसेको गठवन्धनको बैठकले तीनबुँदे सहमति कार्यान्वयन नभएको र पूर्व सहमति अनुसार मुद्दा फिर्ता नभएको ठहर गरेको छ ।
साथै राजपा नेपाललाई चुनाव चिन्ह नदिएर चुनावमा सहभागिता निषेध गरेको उसको दाबी छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै थप गरिएको स्थानीय तहको २२ संख्या अपुग एवं सिकाङ्कन अवैज्ञानिक तथा समझदारी विपरित भएकाले यो हामीलाई स्वीकार्य छैन ।’
संघीय गठवन्धनले मतदाता नामावलीमा छुटेकाहरुको नाम समावेश लगायतका माग पुरा भए चुनावमा जाने बताएको छ ।
बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्वन्धी सबै कार्यक्रमको प्रतिवाद गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने छन् ।
गठवन्धनले १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ र उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने चेतावनी समेत दिएको छ ।








