अमेरिकाले वार्ता स्थगित गरेकोमा उत्तर कोरिया निराश

प्योङयाङ, जेठ ११ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा निराशा व्यक्त गरेको छ ।

उत्तर कोरियाले वार्ता स्थगित गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विश्वको इच्छाअनुसार नभएको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेकोसमेत जनाएको छ । उत्तर कोरियाले अमेरिकासँग देखिएको विवाद ‘जहिल्यै र जसरी पनि’ समाधान गर्न आफूले चाहेको जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग गर्ने भनिएको शिखर वार्ता स्थगित गरेको घोषणा गरेका थिए । ट्रम्पले उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरुमा पोखेको ‘चरम आक्रोस’ र ‘खुला वैरभाव’का कारण अहिले भेट गर्नु उपयुक्त नभएको बताउँदै वार्ता स्थगित गरेका हुन् ।

किमलाई सम्बोधन गर्दै ट्रम्पले लेखेको पत्रमा वार्ता स्थगनबाट संसारले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको भन्दै वार्ताको सम्भावना भने कायमै रहेको उल्लेख गरेका छन् ।

किम र ट्रम्पको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरु त्याग्ने अपेक्षा गरिएको छ । उत्तर कोरियाले पारमाणिक अस्त्र परीक्षणस्थलमा रहेका सुरुङहरु नष्ट गरेको केही घण्टामै ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेका हुन् ।

अहिले स्थगित गरिएको शिखरवार्ता पछि गर्न आफू इच्छुक रहेकोसमेत ट्रम्पले जनाएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्ता स्थगित भएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनले सम्बन्धित पक्षलाई कोरियाली प्रायःद्वीपलाई शान्तिपूर्ण तरीकाले निःशस्त्रीकरण गर्न संवाद कायम राख्न आह्वान गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *