भदौं ४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौंडामा बसेको बैठकले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौडामा आज सम्पन्न पार्टी केन्द्रीय समितिको विशेष बैठकले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
‘संसदमा हाल विचाराधिन संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित भएपनि नभएपनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेको, विधेयक पारित गराउने बारे स्वयं सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दुराष्ट्र पुनस्र्थापना सम्बन्धि संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशिल रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै, बैठकले बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको सहायतार्थ प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ । राप्रपाले बाढी, पहिरो र डुबानमा परेर निधन भएका मृतकका परिवारलाई जनही ५ लाख आर्थिक सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।