काठमाडौँ उपत्यकामा यी स्थानमा चल्नेछन केवलकार

“
काठमाडौं, जेठ, १० । काठमाडौं उपत्यकाभित्र केवलकार सञ्चालन गर्न तत्काल गृहकार्य सुरु हुने भएको छ । सरकारले ४ वटा रुटमा तत्काल केबलकार सञ्चालन गर्न छलफल सुरु गर्ने भएको छ ।
निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्नका लागि गरिएको सम्भाव्यता अध्ययनले काठमाडौमा केवलकार सञ्चालन गर्न सकिने देखाएपछि प्रक्रिया अगाडी बढेको हो ।
काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केवलकार सञ्चालन गर्दा करिब १५ अर्ब लगानी लाग्न सक्ने अध्ययन रिपोर्टले देखाएको छ ।
प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर-रत्नपार्क-डिल्लीबजार-भन्डारखाल-चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केवलकार रुट प्रस्ताव गरिएको छ ।
यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।
गोंगबुबाट बालाजु-सोह्रखुट्टे-कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ ।
यस्तै कलंकीबाट टेकु-थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ । लगनखेलबाट पुल्चोक-थापाथली -रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेपनि जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।
मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो ।
काठमाडौको सडकमा हुने गरेको सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।
केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव समेत प्रतिवेदनमा उल्लेख छ ।
फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् ।
फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन बुझ्दै मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययन गरेर उचित निर्णय लिने बताएका छन् ।
उनले यो प्रतिवेदनबारे लगानी बोर्डसँग पनि छलफल गर्ने बताएका छन् ।
केवलकार सञ्चालन भएपछि काठमाडौँ उपत्यकामा वातावरण प्रदुषण न्युनीकरणमा टेवा पुग्ने सरकारले विश्वास लिएको छ ।
“








