अर्थमन्त्रीसँग ट्रेड युनियनको मागः मुख्य सचिवको तलब मासिक डेढ लाख हुनुपर्यो

काठमाडौँ, जेठ १० । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब बढाउन माग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको हो ।

अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो । साथै युनियनले सरकारले वार्षिक ७ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने र निजामती कर्मचारीलाई वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

हाल कार्यालय सहयोगीको मासिक तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा रहेको छ ।

आउँदो आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेकाले आफूहरुले आफ्ना मागबारे अर्थमन्त्रीलाई जानकारी गराएको ट्रेड युनियनले जनाएको छ ।

जवाफमा अर्थमन्त्री खतिवडाले कर्मचारीको मागप्रति आफू सकारात्मक रहेको बताएका छन्। उनले आफू पनि कर्मचारीकै पृष्ठभूमिबाट आएको र कर्मचारीका समस्या थाहा भएकाले सकेसम्म हल गर्ने बचन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *