निर्वाचनको मुखमा तात्यो सरकार, तराईका बाढीपीडितलाई पाँच महिनापछि राहत

कात्तिक २०, काठमाडौं । सरकारले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ । बाढी गएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो ।
बाढी गएको महिनौंसम्म वेवास्ता गरको सरकारले निर्वाचनको मुखैमा तराईमा राहत बाँड्न लागेको छ । तराईका बाढी सोेमबार बसेको मन्त्रीपरिषद् बैठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास गरेको हो । सरकारले सो विशेष राहत योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताएको छ ।
त्यसैगरी बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैंकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ । ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ ।








