‘श्रीमान् वीरबहादुर’ हेर्दा आँसु बर्रर…

नारायणगढ, पुस २३ । नारायणी कला मन्दिर नारायणगढमा मञ्चन भइरहेको ‘श्रीमान् वीरबहादुर’ नाटकले दर्शकको आँखाबाट आँसु बर्रर बगाएको छ । सुदुरपश्चिमको कथालाई चित्रण गरिएको उक्त नाटक हेर्न आउने जोकोही आँसु पुछ्दै हलबाट बाहिर निस्कन्छन् । मन छुने नाटक तीन दिनदेखि नारायणी कला मन्दिरमा मञ्चन भइरहेको छ ।

रामलाल जोशीको पहिलो कथा सङ्ग्रह हो ‘ऐना’ । त्यही कथा सङ्ग्रहभित्रको एउटा सशक्त कथा हो ‘श्रीमान् वीरबहादुर’ । जुन अहिले नाट्य रूपान्तरण गरेर नारायणगढस्थित नारायणी कलामन्दिरमा मञ्चन गरिएको छ । कथाकार रामलाल जोशी नै ‘श्रीमान् वीरबहादुर’ हेर्न चितवन आए । उनको पनि आँसु थामिएन । नाटक हेर्दा उनको पनि आँसु बर्रर बगे ।

उनीमात्रै होइन, नाटक हेर्दै गर्दा धेरैको आँखा रसाएका थिए । ‘कथा लेख्दा पनि म यत्तिको भावुक बनेको थिइनँ,’ हलबाट बाहिरिएपछि उनले भने, ‘आँसु थाम्नै सकिनँ ।’

नाटक हेरिरहेका पत्रकार तुलमान गुरुङले पनि आँसु रोक्न सकेनन् । नाटक हेर्दा उनको पनि आँसु खस्यो । कलाकारको जीवन्त अभिनयले नाटकलाई ज्यादै सुन्दर बनाएको छ । ‘नाटक पटकपटक हेरेँ, कलाकारको अभिनय ज्यादै मनप¥यो’ पत्रकार गुरुङले भने । नाटक हेर्न नारायणी कला मन्दिरमा भीड बढ्दो छ । चितवन र नवलपुरका साहित्यकार, कलाकारलगायतका दर्शकले हल भरिभराउ छ ।

नाटक हेर्न दर्शक बढिरहेका नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रधानले भने । उनले दर्शकको माग बढ्यो भने नाटक देखाउने समय अझ थपिने बताए ।

दर्शकहरूको चाहनाअनुसार दुई दिन अर्थात् सोमबारसम्म नाटक मञ्चन गरिने कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले बताए । रंगकर्मी भीष्म जोशीले निर्देशन गरेको उक्त नाटकमा निर्देशक जोशी र जिसीसँगै कृपा अधिकारी, सुमित आचार्य, विवेक तिवारी, अञ्जान ढुङ्गाना, अस्मिता थापा, रञ्जना सापकोटालगायतले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =