चौथो कान्तिपुर हिसान एजुकेशन फेयर सुरु


जेठ १८, काठमाडौँ । स्वदेशमै गुणस्तरीय शिक्षा भन्दै चौथो कान्तिपुर हिसान एजुकेशन फेयर आजबाट सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एजुकेशन फेयरमा नेपालका विश्वविद्यालय सहित राजधानीका उत्कृष्ट कलेजहरुको सहभागिता रहेको छ ।
फेयरको उद्घाटन शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै सचिव श्रेष्ठले उच्च शिक्षाका नाममा विदेशिएका युवाहरूलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सबै लाग्नु पर्ने बताए । शिक्षा ऐनको आठौँ संशोधनले नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउने भन्दै सरकार शिक्षा क्षेत्रको विकास र विस्तारमा गम्भीर भएको बताए ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमाल, त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तिर्थ खनिया, पोखरा विश्वविद्यालयका उपकूलपति डा. चिरञ्जिवी शर्मा, सांसद उमेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । आइतबारसम्म चल्ने फेयरबाट विद्यार्थीले एसइइ र एसएलसी पछि कुन विषय कहाँ कसरी अध्ययन गर्ने जानकारी पाउने उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपालका सचिव रामहरी सिलवालले बताए । ‘अहिलेका विद्यार्थीमा देशमा राम्रो शिक्षा दिन सक्ने कलेज विद्यालय छैनन् भन्ने भ्रम छ त्यसलाई चिर्नका लागि पनि यो एजुकेशन फेयर आयोजना गरिएको हो ।’ उनले भने ।

फेयरमा विद्यार्थीले एकै छानामुनी सयभन्दा बढी कलेज र विश्वविद्यालयका बारेमा जानकारी हासिल गर्न सक्नेछन् । यसै गरी विद्यार्थीले आफ्नो करियर अघि बढाउन कस्तो प्रकारको उच्च शिक्षा हासिल गर्ने बारे विज्ञहरुबाट परामर्श पाउने छन् ।








