इपिएलको पहिलो खेलमा पोखरा राइनोजको जीत
पुस ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को पहिलो खेलमा पोखरा राइनोजले सहज जित हात पारेको छ। प्रतियोगिताको दोस्रो दिन मंगलबार बिहान सम्पन्न खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गर्यो।
पोखराको जितमा उसका विदेशी खेलाडी इसरार उल्लाहले अलराउण्ड प्रदर्शन गरे। १ सय १४ रनको लक्ष्य पछ्याएको पोखरालाई पहिलो जित दिलाउन इसरार उल्लाहले ६१ रनको नटआउट पारी खेले।
५२ बलको सामना गरेका उनले ६ छक्का र १ चौका प्रहार गरे। त्यसअघि बलिङमा पनि उनले ४ विकेट लिएका थिए। इसरार उल्लाहले पाकिस्तानमा प्रथम श्रेणीका ६८, लिस्ट एका ४८ तथा ४७ वटा टी–२० खेल खेलेका छन्।
पोखराको जितमा अर्का ओपनर सुनिल धमलाले ४६ रनको पारी खेले। ५४ बलको सामना गरेका सुनिलले ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धा्रित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो।
अनिल मण्डल र दीपेन्द्रसिंह ऐरीबीच तेस्रो विकेटका लागि भएको ६७ रनको साझेदारीलाई पोखराका पाकिस्तानी खेलाडी इसरार उल्लाहले तोडेपछि चितवन सो स्कोरमा रोकिएको हो।
चितवनले अनिल मण्डलसँग ओपनिङ आएका दीलिप नाथलाई पहिलो ओभरमै ६ रनमा गुमाएको थियो।
लगत्तै विदेशी खेलाडी साबेज खानलाई पनि दोस्रो ओभरमा पोखराका अर्का पाकिस्तानी खेलाडी ताज अलिले शुन्य रनमा पवेलियन फर्काइदिए।
१० रनको स्कोरमा दोस्रो विकेट गुमाएपछि टोलीका ओपनर अनिललाई साथ दिन कप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका थिए। अनिल र दीपेन्द्रको जोडीले झण्डै १० ओभर क्रिजमा बितायो।
१३ औ ओभरको दोस्रो बलमा इसरार उल्लाहलाई चौका प्रहार गरेका अनिलले अर्को बलमा फेरी ठूलो सट प्रहार गर्ने चक्करमा बल माथि उठेपछि आउट हुनु पर्यो। जुन खेलको टर्निङ प्वाइन्ट रह्यो।
त्यसबेला टोली १२.२ ओभरमा ७७ रन बनाउँदै राम्रो स्कोर तर्फ अघि बढिरहेको थियो।
तर, ४४ बलको सामना गरेका अनिल ३ चौका र १ छक्का प्रहार गर्दै पवेलियन फर्किएपछि बाँकी खेलाडीले आशातित् प्रदर्शन गर्न सकेनन्।
१५ औं ओभरको दोस्रो ओभरमा इसरार उल्लाहले नै दीपेन्द्रलाई पनि सुनिल धमलाको हातबाट क्याच गराएपछि चितवन दबावमा आएको थियो। दीपेन्द्रले ३२ बलमा ४२ रनको पारी खेले। त्यसक्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे।
उनीहरु बाहेकका अन्य खेलाडीले भने दोहोरो अंक जोड्न नसकेपछि चितवन ११३ रनमा खुम्चिनु पर्यो। चितवनका भिम सार्की ८, योगेन्द्रसिंह कार्की र सुनाम गौतमले समान ७ रन जोडे।
पोखराका इसरार उल्लाहले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। त्यस्तै तेज वालीले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए।
केहीबेरमा हुने अर्को खेलमा विराटनगर वारियर्श र ललितपुर प्याट्रियोट्स मैदान उत्रदैछन्।