सन्दीप फर्किए स्वदेश

“
काठमाडौँ, जेष्ठ ८ । इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् । सन्दीप अपरान्ह सवा ४ बजे जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् ।
उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित भएका थिए ।
दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए ।
आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्दैछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।
“








