मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

वैदेशिक रोजगारीले दिएको पीडा: “दुवै खुट्टा चल्न छोडे, हातले भूइँमा घिस्रिएर घर भित्रबाहिर गर्छु”

बागलुङ, जेठ ८ । कमाउने आशामा विदेशिएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ ।

दुई दशक अघि उनले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा परेका छन्त्याल अहिले अपाङ्गताको अवस्थामा छन् ।

परिवारको लालनपालनका लागि विदेश रोजेका छन्त्याल १६ महिनाभन्दा बढी टिक्न पाएनन् । “कमाउने आशा तुहियो नै, उसैमाथि जीवनभर अशक्त भएर बाँच्नुपर्ने अवस्था आइलाग्यो,” उनले भने, । उनले २०५५ सालतिर गाउँमा चर्केको राजनीतिक द्वन्द्वका कारण विदेशिन बाध्य भएको बताए । साउदी अरबमा गएको १६ महिनामा निर्माणको काम गर्दा दुई तला माथिबाट खस्दा छन्त्याल घाइते भएका थिए ।

चार महिनासम्म विदेशमै उपचार गराई नेपाल फर्किएका छन्त्यालको समस्या निको हुनुको सट्टा झन् चर्कदैं गयो । दुर्घटनामा परी छन्त्यालको कम्मरमुनिको भाग चोटग्रस्त भएको थियो । दुवै खुट्टा भाँचिएपछि ‘स्टिल’ राखिएको छ । साउदी अरबबाट फर्केपछि उनले नेपालमै अकुपञ्चर प्रविधिबाट उपचार गराएका थिए ।

केही वर्षअघिसम्म वैशाखीको साहारामा सामान्य हिँडडुल गर्ने छन्त्याल अहिले भने उभिएर हिँड्न नसक्ने भएका छन् । “दुवै खुट्टा चल्न छोडे, हातले भूइँमा घिस्रिएर घर भित्रबाहिर गर्छु,” उनले भने । खुट्टा सुन्निएपछि घस्रेर हिँड्न पनि उनलाई कठिन हुने गरेको छ । दुर्गमको घरमा ‘ह्लिल चियर’ गुडाउन मिल्ने बाटो छैन ।

निकै कष्टप्रद अवस्थामा छन्त्यालले दैनिकी चलाइरहेका छन् । शौचालय जाँदा पनि उनी दुई हातको साहारामा जाने गरेका छन् । सरकारले दिने अपाङ्गता सुरक्षा भत्ता बाहेक अरु कुनै सहयोग उनले पाउन सकेका छैनन् । घरमा श्रीमती, एक छोरी र छोरासहित बस्दै आएका छन्त्यालले सामान्य घरायसी काममा सघाउने गरेका छन् ।

“खाना पकाउन सहयोग गर्छु, खुट्टा नचले पनि हातले गर्नसक्ने काममा सघाउँछु,” छन्त्यालले भने । उनकी श्रीमती भीमकुमारी स्थानीय तमानखोलाबाट गिट्टी र बालुवा निकालेर आर्थिक जोहो गर्दै आएकी छिन् । सानो लगानीमा व्यावसायिक रुपमा कुखुरापालन पनि गर्दै आएको छन्त्यालले बताए ।

“श्रीमान् अशक्त भएपछि घरको समस्या बढ्यो,’ छन्त्यालले भनिन्, “घरखर्च चलाउन र छोराछोरी पढाउन दुःख उठाउनै प¥यो ।” छन्त्यालकी १५ वर्षीया छोरी पूजा कक्षा १० र १२ वर्षीय छोरा प्रवीण कक्षा ७ मा पढ्दै छन् । ।

कुनैबेला छन्त्याल पनि पढाइमा अब्बल थिए । उनी बोङ्गादोभानकै जनजाग्रित माविमा नौ कक्षामा प्रथम भएका थिए । पढाइभन्दा पैसा ठूलो मानेर त्यतिबेला विदेश गए पनि अहिले भने छन्त्याललाई पढाइ ठूलो लाग्ने गर्छ । नेपाली युवा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको धारणा छ ।

“मलाई जस्तो कसैलाई नपरोस्, देशमै काम गरेर खाने वातावरण बनोस्,” उनले भने ।

रासस

प्रतिकृयाहरु
Loading...