आइएसआइएसका प्रमुख रिक्रुटर मोहम्मद ‘विश्व आतंककारी’ घोषित

एजेन्सी । अमेरिकाले भारततिय सीमावर्ती क्षेत्रमा आतंक मच्चाउने आइएसआइएसका प्रमुख रिक्रुटर मोहम्मद शफी अरमर (३०) लाई ‘विश्व आतंककारी’ घोषणा गरेको छ । अरमर भारतसँग जोडिएको पहिलो आतंककारी हुन्, जसलाई अमेरिकाले आरोप लगाएको छ । एएफपीका अनुसार अमेरिकाले आफ्नो ‘स्पेसियली डेजिग्नेटेड ग्लोबल टेररिस्ट (एसडिजीटी)’ सूचीमा अरमरको नाम सामेल गरेको छ । अरमर कर्नाटकको भटकल निवासी हुन् । अरमरविरुद्ध इन्टरपोलले समेत रेड कर्नर नोटिस जारी गरिसकेको छ । अरमरलाई छोटा मौला, अन्जान भार्इ र यूसुफ अल– हिन्दी आदि नामले समेत चिनिन्छ ।

अरमरको नाम अमेरिकाको अफिस अफ् फरेन एसेट्स कन्ट्रोल अफ् द युएस ट्रेजरी डिपार्टमेन्टको सूचीमा समेत सामेल गरिएको छ । एजेन्सीका अनुसार यो सूचीमा नाम रहेका व्यक्तिहरूको आर्थिक गतिविधिबारे अमेरिकाले विशेष निगरानी गर्ने गर्छ । खासगरी यस्तो निगरानी केही देशहरू अथवा आतंककारी संगठनहरू वा लागुपदार्थ व्यापारमा संलग्नहरूमाथि गरिन्छ ।
भारतको कुनै आइएसआइएस आतंकवादीविरुद्ध अमेरिकाले निगरानी गर्न थालेको यो पहिलो घटना हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अरमर भारतमा फरेन टेररिस्ट अर्गनाइजेसन (एफटिओ) मा आतंककारीहरूलाई नियुक्त गर्ने प्रमुख व्यक्ति हुन् । उनले आइएसआइएसका सयौं समर्थकहरू तयार पारेको छन् । यी व्यक्तिहरूले भारतमा आतंककारी गतिविधिहरूको योजना बनाउने, हतियार उपलब्ध गराउने र हमला गर्ने सम्भावित ठाउँहरू पहिचान गर्ने गर्थे ।
अरमरले भारतमा इन्डियन मुजाहिद्दीनमाथि कारवाही गरेपछि आफू आफ्नो भार्इसँग पाकिस्तानतिर लागेको बताएका थिए । उनले अंसार अल तौहिद नामक संगठन खडा गरेका थिए, जुन पछि गएर आइएसआइएससँग जोडियो ।








