रुट फेर्दा पनि एम्बुसमा परे उम्मेदवार: यस्तो थियो घटना

काठमाडौं, मंसिर १४ । बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेका उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ। उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवाल (२३) बायाँ खुट्टा क्षतविक्षत भएको छ। कुर्कुच्चामुनिको भाग चुँडिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

उदयपुरगढी गाउँपालिकास्थित नेपालटार बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रमको सूचना सार्वजनिक भएपछि बाटोमा एम्बुस राखिएको जानकारी अज्ञात व्यक्तिले दिएका थिए। रुट परिवर्तन गरी जाँदा सोही वडाको दनुवारबेसीमा पुग्दा बा.१च ७८०६ नम्बरको बोलेरो जिप एक्कासि एक फिट माथि उफ्रेर भुइँमा बज्रेको थियो।

खुट्टामा चोट लागेका घाइते चालक राजन कार्की (४३) भन्छन्, ‘जंगलको बाटो हुँदै गाउँ निस्कन लागेका थियौं। ड्याम्म ठूलो आवाज आयो। सुरुमा त इन्जिन पड्किएजस्तो लाग्यो। गाडीको ब्रेकतिर आँखा लगाउँदा ब्रेक नै देखिनँ। उडिसकेको रहेछ।’

एम्बुसस्थलको दायाँतिर ठूलो डिल थियो। पड्कँदा एक फिट माथि उडेको गाडी भुइँमा बज्रँदा अनियन्त्रित भयो। तर, जीप बायाँतिर ढल्कियो। चालक कार्की च्यापिए। उनीमाथि उम्मेदवार कार्की र नेविसंघ नेत्री कटवाल एकमाथि अर्को खप्टिए। लौ मलाई छिटो झिक है …. उम्मेदवार कार्की भन्दै चिच्याए। त्यसपछि पछिल्लो सिटमा बसेका सामान्य घाइते नवराज पौडेललगायतले झ्यानाकुटी पार्दै उठाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =