नेकपाको हेडक्वाटर टुंगो लगाउने जिम्मा ओली र प्रचण्डलाई

काठमाडौं, जेठ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुख्यालय कहाँ बनाउने भन्ने टुंगो लगाउने जिम्मा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सुम्पिएको छ ।

सोमबार प्रधानमन्त्रीको निवास वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीका केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडा कार्यालयमध्ये कहाँ राख्ने अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्षद्वय ओली र प्रचण्डलाई दिईएको छ ।

सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

यस्तै बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।

उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।

त्यसैगरी, जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *