कानुन कमजोर हुँदा उपभोक्ता मारमा


केशव सापकोटा, काठमाडौँ । दैनिक उपभोग्य सामग्रीमा उपभोक्ता ठगिने क्रम बढ्दो छ । नुन, तेल, चीनी, दाल, चामल, तरकारी, मासु, प्रेटोलियम पदार्थ, दुग्घपदार्थ देखि सुन चाँदी, फलाम, सिमेण्ट, औषधि जस्ता हज्जारौं उपभोग्य पदार्थमा उपभोक्ताहरु ठगिँदै आएपनि कानुनी कारबाहीमा परेका घटना कम छन् । नयाँ संविधानले उपभोक्ता अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष फितलोबन्दा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम बढ्दो छ । भने, कारबाहीको पक्ष फितलो बनेको छ ।

ठगीको जालोः नुनदेखि सुनसम्म, दूधदेखि रक्सीसम्म

राजधानीमा खुलेका सुपरमार्केट, विगमार्ट तथा सपिङ मल र औषधी पसलहरुले समेत उपभोक्तालाई खुलेआम ठगेका छन् । उपभोक्ता ठगिने यस्ता काण्ड प्रेटोलियम पदार्थ, ग्याँसदेखि, दुग्धजन्य पदार्थ, नुनदेखि तरकारी, सुनदेखि फलामसम्म छन् । तौल कम हुनु, म्याद गुज्रिनु, कमसल हुनु, तोकिएको भन्दा बढी मूल्य पर्नु, स्वस्थकर नहुनु, विषादी मिसाईनु प्रत्यक्ष उपभोक्ता ठगिने कारण हुन् ।
केही वर्ष अघि न्यूरोडका गुँदपाक ब्यापारीहरुले कुहिएको गुँदपाक बिक्री वितरण गरेको मुद्दामा कमजोर कानुन भएकै कारण थोरै धरौटीमा उन्मुक्ति पाए । गतवर्षको नाकाबन्दीमा दैनिक उपभोग्य वस्तु र प्रेटोलियम पदार्थको चरम अभाव हुँदा गरिएको अनुगमनमा प्रेटोलियम पदार्थमा समेत उपभोक्ता ठगिने रहेछन् भन्ने पुष्टि भयो । भारतीय र तिब्बती बाटो हुँदै दैनिक किलोकाकिलो सुन आयात हुन्छ । प्रहरी प्रशासनले प्रक्राउ पनि गरेका छन् ।
चाडपर्व नजिकिँदै गर्दा अनुगमनकारी निकायदेखि नागरिक मञ्च, उपभोक्ता मञ्चले समेत बजार अनुगमन गर्दछन् । तर, कतैबाट ठगी गर्नेलाई कारबाही भएको, सजाय भएको सुन्नमा पाइन्न । आखिर किन थाहा हुन्न कारबाहीका घटना ।

भाटभटेनी सुपरमार्केटको ठगी

‘पूर्व सेनापति छत्रमान गुरुङका सम्धी तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालका व्यावसायिक भएकै भरमा गुरुङले दैनिक उपभोक्ताहरुको स्वास्थ्य र सम्पत्तिमाथि खेलवाड गरिरहेका छन्’

सामान्य खुद्रा पसलबाट व्यवसाय गर्दै नेपालमा सुपरमार्केट व्यवसाय सुरु गरेका व्यवसायी मिनबहादुर गुरुङले उपभोक्तालाई ठगेरै रातारात अरबौं रकम कमाएका छन् ।
विगतमा करछली, गुणस्तरहिन सामग्री बिक्री गरेर विवादमा पर्दै आएको भाटभटेनीले बिक्री गर्ने सामाग्रीमा समेत अत्याधिक मूल्य राख्ने गरेको छ । त्यसको एउटा उदाहरण हेरौं ।

बजारमा एक लिटरको मिनरल वाटरको २० रुपैंयादेखि २५ रुपैंया सम्म पर्दछ । तर, भाटभटेनी सुपर मार्केटले एक बोतल मिनरल वाटरको १ सय ५५ रुपैंया समेत लिने गरेको पाइएको छ ।
काठमाडौँ सोह्रखुट्टे निवासी कल्पना आचार्यले पुरानो भाटभटेनी सुपर मार्केट नक्सालमा एक बोतल मिनरल वाटर खरिद गर्दा १ सय ५५ रुपैंया प¥यो । उनले खरिद गरेको ट्याक्स इन्भ्वाईस विलमा एभरेष्ट मिनरल वाटरकै १ सय ५५ रुपैंया लिइएको छ । विल नं. SI1145197 मा मिनरल वाटरको १ सय ५५ रुपैंया लिएको देखिएको छ । ‘एक बोटल पानीको किन यत्ति महँगो प¥यो भनेर काउन्टरमा सोध्दा आफूलाई थाहा नहुने सिस्टमले नै त्यत्ति देखाएको भने ।’ उनले भनिन् ।
उपत्यका लगायत देशका प्रमुख सहरहरूमा संभ्रान्त परिवारका लागि लक्षित गरेर खोलिएको सुपर मार्केटले उपभोक्ताको स्वास्थ्य र सम्पत्तिमा दिनदहाडै खेलवाड गरे पनि कतैबाट अनुगमन हुन सकिरहेको छैन ।
 विगतमा भाटभटेनीले अत्याधिक रूपमा आफुखुशी मुल्यबृद्धि गर्ने, भूकम्प पीडितका नाममा राहत सामग्री वितरण गर्दा कुहिएको खाद्य पदार्थ दिने जस्ता कूकृत्य गरेको भन्दै अधिकारवादीले सम्बन्धित निकायमा उजुरी पर्दा समेत कतैबाट कारबाही भएको सुन्नमा आएको छैन । बरु राज्यले उल्टै प्रशय गरेको पाइएको छ । पूर्व सेनापति छत्रमान गुरुङका सम्धी तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालका व्यावसायिक भएकै भरमा गुरुङले दैनिक उपभोक्ताहरुको स्वास्थ्य र सम्पत्तिमाथि खेलवाड गरिरहेका छन् । ‘उनलाई नत राज्यले तह लगाउन सक्छ नत जनताले ।’ उपभोक्ता हित संरक्षण मञ्चका एक सदस्यले बताए ।
भाटभटेनीले एउटा शाखाबाट मासिक न्यूनतम १ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको विगतमा सुनिएपनि कतैबाट कारबाही भयो भन्ने खबर बाहिर आउन सकेका छैनन् ।
भाट भटेनी सुपर मार्केटको ठगी धन्दा यतिमै सीमित छैन । महँगोमा सामान बेच्ने, भ्याट विल नदिने, नक्कली विल दिने, म्याद गुज्रिएको सामान बिक्रीका लागि भाटभटेनी प्रख्यात भईसक्यो ।
२०६७ सालमा आन्तरिक राजस्व विभागले भ्याट छली गर्नेहरुको छानविन गर्दा भाटभटेनीले पनि भ्याट छलि गरेको पाइएको थियो । त्यत्तिबेला गठित भ्याट छली समितिले २०६७ साल फागुन २० गते ‘झुटा एवं नक्कली मूल्य अभिवृद्धि कर विजकबाट भएको कर छली सम्बन्धमा अध्ययन तथा छानविन प्रतिवेदन २०६७’ सार्वजनिक गर्दै भाटभटेनीले करोडौं भ्याट रकम ठगी गरेको भनिएको थियो । सार्वजनिक गरिएको प्रतिवेदनमा नक्कली भ्याट बिल बनाएर ठगी गर्ने ४ सय बढीको सूचीमा भाटभटेनी सुपर मार्केटको नाम अग्रस्थानमा थियो । पछि गुरुङले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पैसा खुवाएर घटना मिलाएका थिए । भाटभटेनी सुपरमार्केट जस्ता ठुला व्यापारिक घरानियालाई संरक्षण गर्दै देशको ढुकुटी रित्याउन सफल भएका शर्मा यति बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् ।

कमजोर कानुन बाधक

उपभोक्ताको हकहित संरक्षणका लागि बनेका कमजोर कानुनले गर्दापनि उपभोक्ता ठगिन पुगेको उपभोक्तावादीको धारणा छ । ‘उपभोक्ता हित संरक्षणका लागि बनेका कमजोर कानुनले गर्दा कालो बजारी गर्नेदेखि ठगीगर्ने ब्यापारीहरुले उन्मुक्ति पाएका छन् ।’ उपभोक्ता मञ्च नेपालका एक सदस्य भन्नुुहुन्छ । उपभोक्ता संरक्षण ऐन, २०५४ ले दोषीलाई अधिकतम १४ वर्ष कैद र ५ लाख जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरेको थियो । नयाँ बनेको कानुनले त्यसलाई झन् कमजोर बनाएको छ ।

अहिलेको कानुन झनै कमजोर

उपभोक्ता संरक्षणसम्बन्धी विद्यमान कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ठगी गर्ने व्यवसायीलाई विद्यमान ऐनको तुलनामा कम सजायको प्रस्ताव गरिएको छ । यसले व्यापारीलाई जसरी ठगी गर्दापनि हुन्छ भन्ने सोच विकास भएको छ । उपभोक्ता अधिकारका क्षेत्रमा मूल कानुन मानिँदै आएको उपभोक्ता संरक्षण ऐन, २०५४ ले दोषीलाई अधिकतम १४ वर्ष कैद र ५ लाख जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरेकोमा नयाँ बन्न लागेको प्रस्तावित उपभोक्ता संरक्षण विधेयक, २०७३ ले अधिकतम ५ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय तोक्न सक्ने व्यवस्था गरेको छ ।
उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा आएको दुई दशक पुगी सक्दापनि दोषी भेटिएका कुनै पनि व्यक्तिलाई जेल सजाय हुन सकेको छैन । प्रहरीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कसुरदार व्यवसायीलाई जेल चलान गर्ने भए पनि अनुगमनकारी निकायले ऐनअनुसार कारबाही गर्न सकेका छैनन् ।

कार्यान्वयन फितलो

बालकृष्ण पन्थी, प्रमुख जिल्ला अधिकारी, काठमाडौँ

सरकारी निकायका पदाधिकारी भने कानुन बलियो भए पनि कार्यान्वयन पक्ष कमजोर बनेको स्विकार्छन् । ‘कानुन बलियो भए पनि कार्यान्वयन पक्ष फितलो भएको हामीले महसुस गरेका छौँ ।’ काठमाडौँ प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी भन्नुहुन्छ । ‘उपभोक्ताका विषयमा बनेका कानुन राम्रै छन्, तर, कार्यान्वयनमा जाँदा फितलो भएको छ । मुख्यकुरा ब्यापारीहरुलाई उपभोक्तालाई ठग्दा सजाय हुन्छ भनेर बुझाउन नसकिएको हो की वा उनीहरूले नै बुझ पचाएका हुन् भन्न गाह्रो छ ।’ उहाँको तर्क छ । राज्यले बनाएको कानुनले तोकेको १ रुपैयाँ होस् वा १ करोड दुवै सजाय नै हो । तर, ब्यापारीहरुमा नैतिकता हराउँदै भएको भने पक्कै हो ।

उपभोक्ता पनि कम छैनन्

उपभोक्ता समेत सचेत नबन्दा कानुन कार्यान्वयनमा समस्या आएको छ । उपभोक्ताले कुनै पनि सामान खरिद गर्दा अनिवार्य भ्याट विल लिनुपर्ने कानुन छ । तर, कतिपय उपभोक्ताहरु १३ प्रतिशत कर तिर्न नपरोस् भनेर व्यापारीबाटै विल लिन मान्दैनन् । ‘हामीले भ्याट तिर्नुपर्छ भनेर ग्राहकलाई भन्दा विल चाहिँदैन बरु दाम घटाईदिनुस् भन्छन् ।’ न्यूरोडका एक व्यापारी भन्छन् ।  ग्राहकले भ्याट विल नलिएको प्रत्यक्ष फाइदा व्यापारीले उठाउँछन् । भ्याट विल जारी गर्दा करोबारको १३ प्रतिशत अनिवार्य राज्यलाई बुझाउनु पर्छ भ्याट विल जारी नगर्दा पुरै आम्दानी व्यापारीको पोल्टामा जान्छ । ‘उपभोक्ताले भ्याट विल लिएको खण्डमा कुनै व्यापारीले ठगी गरे कारबाहीको दायरामा ल्याउन सहज हुन्छ । तर, हामीले पर्याप्त रूपमा उपभोक्तालाई सचेत गराउन सकेका छैनौँ ।’ प्रजिअ पन्थी दाबी गर्नुहुन्छ ।

एउटै उजुरी छैन

एसएसपी छविलाल जोशी, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय काठमाडौँमा अहिलेसम्म कुनै पनि उपभोक्ता ठगिएको उजुरी त के गुनासो समेत छैन । जनताको शान्ति सुरक्षासँग सम्बन्धित रहेको प्रहरीको अर्को काम भनेको समाजका के कस्ता गतिविधि भएका छन्, उपभोक्ता कसरी ठगिइरहेका छन् भन्ने पनि हो । तर, उपभोक्ता ठगिएका कुरा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले हेर्ने भएकोले व्यापारीले ठग्यो भनेर कुनै उजुरी आएको छैन । ‘जिल्ला प्रशासनले बजार अनुगमन गर्दा हामीले सुरक्षा प्रदान गर्ने हो, अहिलेसम्म उपभोक्ताले व्यापारीबाट ठगियौं भनेर उजुरी गरेका छैनन् ।’ जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसएसपी छविलाल जोशी भन्नु हुन्छ । उहाँ राजधानीका उपभोक्ता आफैँ सचेत भएकोले पनि यस्ता घटना कमै घटेको दाबी गर्नुहुन्छ । ‘यहाँका जनता पहिलेका जस्ता छैनन् निक्कै सचेत, संयमित हुनुहुन्छ, फेरी उपभोक्ता ठगिका घटना हामीले हेर्ने हैन ।’ उहाँको तर्क छ ।

अधिकारवादीको कमाई खाने भाडों

कालोबजारी बढेको, कृतिम अभाव सृजना गरेको, नापतौल, अस्वस्थकर खाद्य तगायत उपभोक्ता अधिकारका विषयमा वकालत गर्ने चार दर्जन बढी संघसंस्थाहरुले अनुगमन र निरिक्षणका नाममा कमाउ धन्धा चलाएका छन् ।
केही समय अघि केएल दुगडका उत्पादनले उपभोक्रा ठगिएको केसमा केही अधिकारवादी संस्थाहरू बिच नै झगडा भयो । ‘उनीहरूले बजारमा कुनै व्यापारीले उपभोक्ता ठगेको थाहा पाए कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै बयापारीसँग मिलेर कमिसन खाने गर्दछन् ।’ काठमाडौँ डिल्लीबजारका राजेन्द्र अधिकारी भन्छन् । ‘हामीले उजुरी गरे पनि केही हुँदैन, एक वर्ष अघि मिठाईमा अखाद्य पदार्थ मिसाएको भनेर उजुरी गरियो ,पछि तिनीहरू नै आएर एक माफी दिने भनेर छाडिदिए । यस्तो छ सेटिङ’ उनले भने ।
बजारमा नापतौलमा ठगी, म्याद नाघेका, लेवल नभएका, अस्वस्थ वस्तुहरूको बिक्री भइरहेको पाए त्यस्ता अधिकारवादीले वार्गेनिङ समेत गर्ने गरेका छन् । यस्तै एक घटनामा एक वर्ष अघि उपभोक्ता मञ्चका एक पदाधिकारीलाई जोनसन एण्ड जोनसन ब्राण्डलाई वार्गेनिङ गरी एक लाख घुस लिँदालिँदै प्रहरीले प्रक्राउ समेत गरेका थियो ।
अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, सिण्डिकेट, कार्टेलिङ तथा कालोबजारी गर्नेहरुलाई तत्काल कारबाही गर्ने भनेर सरकार फेरिँदै पिच्छे आएका मन्त्रीहरुले भन्ने गरेका छन् । तर, कार्यान्वयन पाटो यति फितलो छ की कहिले कहाँ कसले अनुगमन गर्ने पहिल्लै व्यापारीलाई थाहा हुन्छ । यदि कसैले थाहा नपाएर फन्दामा परिहाले अधिकारवादीका नाममा जन्मिएकाहरुले नै जोगाई दिँदा उपभोक्ता दिनदिनै ठगिइरहेका छन् । व्यापारी मोटाईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =