पेन्सिल नल्याएकाे भन्दै शिक्षकले विद्यार्थी कुट्दा कानकाे जाली फुट्याे

जेठ ६, धरान । चित्र कोर्न पेन्सिल नल्याएको भन्दै धरानको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थीकाे कानकाे जाली नै फुटेकाे छ । धरान उपमहानगरपालिका वडा नम्बर-१६ मा रहेको धरान लिगामेन्ट ईङलिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छेन्छेलुङ लिम्बुलाई शिक्षकले पेन्सिल नल्याएकाे निहुँमा कानकाे जाली फुट्ने गरी नै कुटपिट गरेका छन् ।

स्कूलका शिक्षक अशोक राईले गएकाे साेमबार विद्यार्थीलार्इ कुटपिट गर्दा लिम्बुको कानको जाली फुटेको छ । विद्यार्थी छेन्छेलुङ लिम्बुका अनुसार चित्र कोर्न पेन्सिल नल्याएको भन्दै शिक्षक राईले मुक्का समेत प्रहार गरे ।

उनले भने, ‘पेन्सिल नल्याउने जति अगाडि आउँ भनेर बोलाउनुभयो, ४ जना थियौं सबैलाई एक्कासी कुट्न थाल्नुभो ।’ सोसियल स्टडिजका शिक्षक राईले गाला, ढाँड र कानमा मरून्जेल हिर्काएका छन् । शिक्षककाे कुटाइबाट विद्यार्थीकाे गालामा निलडाम छ भने कानको जाली फुटेको छ ।

लिम्बु मोरङको जातेमा ८ कक्षा सम्म अध्ययन गरि यसै वर्ष देखि ९ कक्षामा धरान लिगामेन्टमा भर्ना भएका थिए । धरान-१६ स्थित गणतन्त्र चौकमा किराना पसल सञ्चालन गर्दै आएकी उनकी आमा संगै बसेर पढ्नका लागि लिम्बु धरान आएका थिए । उनी दुई हप्ता अघि मात्रै विद्यालय भर्ना भएका थिए ।

शिक्षकबाट कुटाई खाए पछि उनले घरमा अभिभावकलाई सुनाएका थिए । कानमा घाउ भएको थाहा पाएपछि उनलाई विद्यालयका भाईस प्रिन्सिपलले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगेका थिए ।

प्रतिष्ठानका चिकित्सकले विद्यार्थीकाे कानको जाली फुटेकाले ३ महिना उपचार गर्नुपर्ने बताएपछि विद्यार्थीका अभिभावकहरु आक्रोशित बनेका छन् । उनीहरुले शिक्षकलाई कारवाही गर्नुपर्ने माग राख्दै उपचार खर्च विद्यालयले नै व्यहोर्नु पर्ने बताएका छन् ।

पेन्सिल नल्याएकै कारण कानकाे जाली नै फुट्ने गरी कुटपिट गर्ने शिक्षकलार्इ कारवाही गर्नुकाे सट्टा स्कूलका प्रिन्सिपल दुर्गा सुवेदीले उल्टै विद्यार्थीलार्इ गाली गरे । ‘उहाँले यसाे ३ चड्कन, १ बक्सिङ्ग मात्र हान्नु भएकाे हाे ।’ सुवेदीले भने-‘सरलार्इ अाँखा तरेर घुरेर हेरेछ, अनि उहाँलार्इ रिस उठिहाल्छ नी !’ उनले भने-‘नर्मल कुरा हाे, यहाँका पत्रकारहरूले सानाे कुरालार्इ ठूलाे बनाएका मात्र हुन् ।’ उनले मकालु खबरसँग फाेनमा भने ।

उनले पत्रकारलार्इ कार्यक्रममा बाेलाउँदा चैं नअाउने तर, सानाे कुरा हुँदा बबण्डर मच्चाउने भन्दै अाक्राेस पाेखे ।

विद्यालयका डाइरेक्टर तेजमान लिम्बूले भने, पेन्सिल नल्याएकै निहूँमा कानकाे जाली नै फुट्नेगरि विद्यार्थी कुटपिट गर्ने शिक्षकलार्इ निष्कासन गरेकाे बताए । ‘अहिलेकाे समयमा विद्यार्थीलार्इ शारिरीक यातना दिएर हैन काउन्सेलिङ गरेर सुधार्नुपर्ने ठाउँमा त्यसरी कुटपिट भएछ, हामीले त्याे शिक्षकलार्इ अब नअाउनु भनेर निकालिसक्याैं ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =