निर्माणमा ढिलाइ गर्ने ठेकेदारबाट हर्जाना असुलिन्छ : कुलमान

काठमाडौं, जेठ ६ । विद्युत प्रसारण लाईन निर्माणको काममा ढिलाई गर्ने ठेकेदारबाट हर्जाना असुल्ने तयारी गरिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमै प्रसारण लाइन नबनाउने, लापर्वाही ढंगले काम गर्ने ठेकेदारहरुबाट हर्जाना असुल्ने तयारी गरेको बताएका छन् ।

सोलु करिडोरको निर्माणमा ढिलाई गरेपछि शुक्रबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको टोलीले तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव-स्टेसन र प्रसारण लाइनको स्थलगत निरीक्षण गरिसकेपछि यस्तो बताएका हुन् ।

निर्माण स्थलमा पुगेको घिसिङले भने ‘प्रसारणलाइन निर्माण समयमै सकिएन भने प्राधिकरणले जलविद्युत आयोजनालाई दिनुपर्ने क्षतीपुर्ति प्रसारणलाइन निर्माण कम्पनीबाटै उठाउने छ ।’

बेलैमा प्रसारण लाईन बन्न नसक्दा विद्युत खेर जाने गर्छ , प्रसारण लाईन विस्तार गर्ने जिम्मा पाएको कम्पनिले निर्माणमा ढिलाई गरेपनि विद्युत आयोजनालाई विद्युत प्राधिकरणले हर्जाना तिर्नुपर्छ । तर अब भने विद्युत् प्राधिकरणले त्यस्तो क्षतिपुर्ति बापतको रकम प्रसारणलाइन समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारबाट असुलेर जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनीलाई दिने भएको छ ।

सोलु करिडोर समयमै निर्माण नभएका कारण सोलु खोलामा निर्माण भएका आयोजनाहरुबाट विद्युत खेर जाने देखिन्छ । सोलु करिडोर प्रसारणलाइनमा विद्युत जोड्ने गरि अहिले सोलु खोलामा निजी क्षेत्रका २ हजार १७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् ।

यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा उल्लेख गरिएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ । तिंला-ओखलढुंगा-उदयपुर-मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारण लाइन आयोजनाले ३०३ टावर निर्माण गर्नु पर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको छ ।

ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सब स्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३/११ केभीको सव-स्टेसन बनाइरहेको छ ।  कार्यकारी निर्देशक घिसिङले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने गरी काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *