केन्द्रको निर्णय भन्दै पर्सा बन्द

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को जनजीवन प्रभावित बनेको छ । सिरहा, सप्तरी, पर्सा, बारा लगायतका जिल्लाहरु बन्द छन् । शनिबार नवलपरासीमा भएको घटनालाई लिएर राजपा कार्यकर्ताहरुले शनिवार गृहमन्त्रीको पुत्ला दहन समेत गरेका छन् । संविधान सशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउन, राजनीतिक मुद्दा फिर्ता, आन्दोलनमा घाइतेको क्षतिपुर्ति, भाषा, नागरिकताको सम्बन्धमा विभिन्न माग राख्दै चुनाव सार्न आन्दोलनमा उत्रेको राजपाले आज प्रदेश नं १, ५ र ७ मा हुने मनोनयन कार्यक्रम विथोल्ने उद्देश्यले अन्य प्रदेशसँगै २ नम्बरमा पनि १ दिने बन्द अह्वान गरेको राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाले बताउनु भयो । बन्दका कारण सवारी, बजार, शैक्षिक क्षेत्र, उद्योग कलकारखाना बन्द रहेको छ ।

सरकारले राजपाको सहमति बेगर एकलौटी रुपमा २ नं प्रदेशको निर्वाचन सारेर अन्य प्रदेशमा चुनाव गराउन लागेकाले आन्दोलन जारी रहेको उहाँले बताउनु भयो । जबसम्म संविधान संशोधन हुँदैन तबसम्म राजपाको आन्दोलन जारी रहने केन्द्रीय निर्णय अनुसार आन्दोलन गर्ने निर्देशन आएकाले बन्द गरिएको उनको भनार्इ रहेको छ ।
गत मंगलवार देखि शुक्रवार सम्म बन्द हड्ताल झेलेका मुलुककै आर्थिक नगर वीरगञ्जका उद्योगी व्यापारी बन्दको कार्यक्रमले निराश बनेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बन्द हडतालले फेरि वीरगञ्जको व्यापार धराशायी हुने बाटोमा जान लागेको बताउनु भयो । ‘के गर्ने न राजपा जिम्मेवार छ, न त सरकार,’ उनले भने ,‘सबैतिरबाट व्यापारीहरुलाई नै सबैभन्दा बढी घाटा बेहोर्नुपर्छ ।’ उहाँले दुखेसो पोख्नुभयो ।








