‘पञ्चायत विरुद्ध प्राण दिनेलार्इ कम्युनिष्टले विर्सिए’

जेठ ६, काठमाडाैं । २०६३ साल यता दुर्घटना हुँदा, चोर, डाँकाको आरोपमा मारीएकाहरुलाई पनि शहिद बनाएर १०–१० लाख बाँड्ने नेपाल सरकारले २०४२ सालमा निरंकुश पन्चायति सरकार विरुद्ध शहादत प्राप्त गरेका ब्यक्तिलाई भने विर्सिएको छ ।

केहि महिना अगाडी मात्रै धनकुटा छिन्ताङ काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गरेको शेरबहादुर देउवा सरकारले समेत पञ्चायती शासन विरुद्ध ज्यान अर्पण गरेका धरान सुनसरीका एक युवालाई शहिद घोषणा गर्न सकेन ।

०४२ साल जेठ ६ गते पञ्चायती राज्य ब्यवस्था विरुद्ध शिक्षक विद्यार्थीहरुले चर्काएको आन्दोलनमा धरानको छाता चोकमा प्रहरीको गोलीबाट मृत्यु भएका धरान–७ शुक्रपथ निवासी स्व गाण्डिव श्रेष्ठलाई भने अहिलेसम्म शहिद घोषणा गरेको छैन ।

जिल्ला प्रशासन कार्यालय सुनसरी समेतले ‘गाण्डिव श्रेष्ठ २०४२ सालको ‘प्रजातान्त्रिक आन्दोलनका शहिद’ भनि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयलाई १० वर्षअघि नै पत्राचार गरेपनि सरकारले अहिलेसम्म स्व. श्रेष्ठलाई शहिद घोषणा नगर्नु अन्याय भएको छ । धरान नगरपालिकाले ०६९ भाद्र ५ गते शान्ति तथा पुर्न निर्माण मन्त्रालयलाई पत्रलेखि सहिद घोषणाका लागि सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले ०६६ जेठ ६ गते नै गृह मन्त्रालयको द्वन्द्व ब्यवस्थापन समितिलाई समेत पत्र लेखि सहिद परिवारको राहत सुविधा उपलब्ध गराउन सिफारिस गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनमा लागेर शहादत प्राप्त गरेका स्व. श्रेष्ठलाई शहिद घोषणा गरिदिए उनको योगदान हुने शहिद श्रेष्ठका भतिज दिलकृष्ण श्रेष्ठ बताउँछन् । ‘डाँका, लुटपाटमा संलग्नले समेत शहिद हुने मौका पाए, देश र जनताका लागि ज्यान अर्पण गर्ने उहाँलाई राज्यले अहिलेसम्म नसम्झँदा दुखः लागेको छ ।’

बहुदलिय ब्यवस्था आएपछि पटक–पटक श्रेष्ठको परिवारले सहिद घोषणा गर्न माग गरेपनि कुनै सरकारले सुनेनन् । ‘उहाँ कम्युनिष्ट विचार धाराको हुनुहुन्थ्यो । पञ्चायती ब्यवस्थामा सबैभन्दा बढि कम्युनिष्टलाई राज्यले दमन गर्यो । हामीले बहुदल, गणतन्त्र आएपछि केहि होला भनेको कुनै सरकारले उहाँलाई चिनेन ।’ श्रेष्ठको परिवारको भनाई छ ।

२०४२ साल आजकै दिन अर्थात जेष्ठ ६ गते दिउँसो तत्कालिन सुनसरी जिल्ला प्रशासन प्रमुख रामकृष्ण पन्तले धरानको छाताचौकमा विद्यार्थी आन्दोलनकारीहरुलाई गोली हान्ने आदेश दिँदा २४ वर्षिय श्रेष्ठ धरानको छाता चौक पुर्व हुलाक कार्यालय अगाडि गोली लागेर ढलेका थिए ।

उक्त दिन आन्दोलनकारीले नेपाल बन्दको घोषणा गरेका थिए, सो बन्द उलंघन गर्न प्रजिअ पन्तले बसमा प्रहरी राखेर धनकुटा लैजान खोजेका थिए । सो क्रममा आन्दोलनकारीले छाताचौकमा बसमाथी ढुङ्गा प्रहार गरे, त्यसपछिको झडपमा प्रजिअले गोली प्रहार गर्न आदेश दिँदा सो गोली गाण्डिवलाई लाग्यो ।

तिघ्रामा गोली लागेका श्रेष्ठ भक्लक्कै ढले, उनीसँगै विद्यार्थी दिलीप राई समेत घाइते थिए । धरान १८ मा बृटिस घोपा क्याम्प (हालको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) थियो, उपचारका लागि लान सकिन्थ्यो तर, प्रहरीले हेलचेक्र्याँई पुर्वक ट्रकमा हालेर विराटनगरको अञ्चल अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तश्रावका कारण उनको मृत्यू भएको थियो ।

‘घोपा क्याम्पमा पहिले उपचार गरेर विराटनगर लगेको भए आज उहाँ जिवित हुनुहुन्थ्यो होला, तर प्रहरीले लापरवाही तरिकाले ट्रकमा हालेर विराटनगर लैजाँदा दुहवी पुल नर्तदै उहाँको प्राण गएछ ।’ भतिजा दिलकृष्ण भन्छन् ।

पन्चायती व्यवस्थाको विरुद्धमा नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नेपाल बन्द गरेको बेला गान्डिप आन्दोलनकारीहरु सँगै सडकमा उत्रिएका थिए ।

कोशी अञ्चल अस्पताल विराटनगरले समेत गाण्डिपको मृत्यू प्रहरीको गोली लागि भएको भन्दै मृत्यूदर्ता प्रमाणपत्र दिएको छ । स्थानीय धरान नगरपालिकाले समेत ०६५ सालमा मृत्यू दर्ता प्रमाणपत्र दिएको छ, जसमा प्रष्टरुपमा गोली लागी मृत्यू भएको उल्लेख छ ।

‘स्थानीय राजनीतिक दल, प्रशासनले समेत सहिदका लागि सिफारिस गरे, उहाँको मृत्यु भएको अस्पतालले समेत मृत्युदर्ता प्रमाणपत्रमा प्रहरीको गोली लागेर मृत्यू भएको भनेको छ । तर, हाम्रो राज्य यो कुरालाई मान्न तयार छैन ।’ भजित दिलकृष्ण भन्छन्–‘राज्यले उहाँलाई सहिद घोषणा गरेर हामीलाई सहिद परिवार भनोस्, अरु केहि चाहिन्न ।’

स्व. गाण्डिवका भतिज दिलकृष्ण सरकारले न्याय नदिएपछि अब राष्ट्रपति समक्ष जाने तरखरमा छन् । ‘आज ३३ बर्षसम्म पनि मेरो काकालाई कुनै सरकारले शहिद घोषणा नगरेकाले दुखः लागेको छ, अब हामी राष्ट्रपति समक्ष ज्ञापनपत्र वुझाउन जाने भएका छौं ।’ उनले यो अभियानमा सबै नेपाली दाजुभाईहरुलाई सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।
आनन्द श्रेष्ठको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =