रौतहटका ९० मतदान स्थल अति संवेदनशील

गौर, ३० जेठ / पटक पटक परिवर्तन भएको दोस्रो चरणको निर्वाचनको मिति र गाँउपालिका तथा नगरपालिकाको बदलिदो संरचनाले स्थानीयवासी अन्योलमा परेका छन् । राजपाको पछिल्लो आन्दोलनको घोषणाले झन् उमेदवार र मतदातामा अन्यौलता छाएको छ । उमेदवार मनोनयन दर्ताको समय नजिकिदै जाँदा पछिल्लो समय सदरमुकाम गौर बाहेकाका स्थानमा चुनावी रंगमा चढेको छ ।

२ नम्बर प्रदेशमा निर्वाचन सर्ने हल्लाले मतदाता अन्यौलमा

रौतहटका ३ नगरपालिका र १३ गाउँपालिकामा विभिन्न दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । जिल्लाको उत्तरी भेगका मतदाता दुई दशकपछि हुन लागेको निर्वाचनका लागि आतुर छन् भने सदरमुकाम गौरका मतदाता निर्वाचन हुने नहुनेमै अन्यौलमा छन् । अझैसम्म पनि असमझदारी र निर्वाचनको वातावरण पूर्णरुपमा तयार नहुनुमा सरकारको कमजोरी रहेको एकथरीको भनाई रहेको छ ।

यता सुरक्षा निकायले जिल्लाका ९० मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखेको छ भने ७३ वटा संवेदनशील र १ सय ११ वटा सामान्य अवस्थाको सूचिमा राखेको छ । नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केसरीका अनुसार सरकारले पनि राजपाले उठाएका मागहरुका बारेमा ठोस निर्णय गर्न नसकेका कारण गौरका उमेदवार र मतदातामा निर्वाचन हुने नहुने कुराको आशंका छाएको छ ।

स्थानीय तह थप्नुपर्ने कुरामा सरकार चुकेको अध्यक्ष केशरीको भनाइ छ । अरुतिर चुनाव हुने र २ नम्बर प्रदेशमा मात्रै नहुने यस्तो हुनु हुदैन गौरका स्थानीय बासिन्दा तथा पुराना पत्रकार रमेश सिंहको भनाई रहेको छ । विकास प्रक्रियाबाट अलग भएर बस्न नहुने तथा नया समस्या थपेर वा बाधक बनेर पनि समस्याको समाधान नहुने भएकाले सहमतिको मिलनबिन्दुमा पुग्न जरुरी रहेको पत्रकार सिंहको भनाइ छ ।

शहिदको घोषणा, क्षतिपूर्ती, मुद्दा फिर्ता र स्थानीय तहको थप्ने बारेमा सरकार गम्भीर नभएको भन्दै राजपा नेता अजय गुप्ताले आफूहरु बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राजपालाई पटक पटक चुनावको मिति सारेको भन्ने सरकारले नै चुनावको वातावरण नबनाएको उनको आरोप छ ।  रौतहटमा चुनावका लागि केन्द्रीय सुरक्षा नीति अनुसार सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोख्रेलले बताए ।

मतदाताले निर्धक्कपूर्वक आफूले चाहेको र रोजेको उम्मेदवारलाई भोट हाल्न पाउने वातावरण प्रहरी ,प्रशासनले बनाएको उनले बताए । चुनावको पहिलो तहमा मतदानस्थलमा नेपाल प्रहरी, त्यसपछि दोस्रो तहमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षामा नेपाली सेना खटिनेछ,रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर  थापाले भने सोमबारसम्म जिल्लाका १६ स्थानमा नेपाली सेना निर्वाचन सुरक्षाका लागि खटिइसकेको छ । कसैले धाकधम्की वा करकापमा पारेर कुनै मतदातालाई बाध्य बनाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

रौतहट जिल्लाभरिमा निर्वाचन सुरक्षाका लागि २ हजार ९२ म्यादी प्रहरी, २ हजार ३८ जना नेपाल प्रहरी, ८ सय १६ सशस्त्र प्रहरी र झण्डै ५ सय ४० जना नेपाली सेना खटाइने तयारी सरकारको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटका ९० मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखेको छ भने ७३ वटा संवेदनशील र १ सय ११ वटा सामान्य अवस्थाको सूचिमा राखेको छ । रौतहटमा कांग्रेस र माओवादी केन्द्रले अझैसम्म पनि उम्मेदवारहरुको अन्तिम सूचि जारी गरेका छैन ।नेकपा एमाले ले चन्द्रपुर नगरपालिका र केही गाउपालिकामा उमेदवार चयन गर्न सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =