ट्रेड युनियनको चेतावनीः तलब बृद्धि र स्वेच्छिक अवकाश प्रक्रिया अघि नबढाए आन्दोलन

“
काठमाडौँ, जेठ २ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कर्मचारीहरुले सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आधिकारिक ट्रेड युनियनले आफ्ना मागहरु सार्वजनिक गरेको छ । स्वेच्छिक अवकाश प्रक्रिया अघि बढिरहेको बेला वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउनुपर्ने अध्यक्ष पूण्य ढकाल र महासचिव सुवोधकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै ट्रेड युनियनले हचुवाको भरमा कर्मचारी समायोजन बन्द गर्न र ट्रेड युनियनहरुप्रतिको पुर्वाग्रही अभिव्यक्ति तत्काल बन्द गर्न चेतावनी दिँदै बढ्दो मूल्यवृद्धि, राजश्व वृद्धिसमेतलाई अध्ययन गरी तलबमा पुनरावलोकन हुनुपर्ने बताएको छ ।
सरकारले आफ्ना मागप्रति उदासिनता देखाएमा बाध्यतावश आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । आधिकारिक ट्रेड युनियनले आन्दोलनका लागि तयार रहन सबै तह र तप्काका कर्मचारीहरुलाई अनुरोधसमेत गरेको छ ।
माग पूरा नभए जेठ १९ गते हुने युनियनको राष्ट्रिय भेलाबाट आन्दोलनको घोषणा गरिने ढकाल र देवकोटाले जनाएका छन् ।
“








