नेपाली कामदारको समस्या समाधान गर्न मन्त्री मंसुरको आग्रह

काठमाडौं, साउन ३ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि साउदी अरबका राजदूत अब्देल नासेर हुसेन अल हार्थीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री मंसुरले साउदीमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका बहिर्गमन प्रवेशाज्ञा, नवीकरण, तलब भक्ताको भुक्तानी, शव पठाउने कार्यमा ढिलाइलगायत समस्याबारे राजदूत हार्थीको ध्यानाकर्षण गराए ।

जवाफमा राजदूत हार्थीले समस्याको समाधान गर्न दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा मन्त्री मंसुरले खाडी राष्ट्रमा उत्पन्न कूटनीतिक गतिरोधको समाधान शान्तिपूर्ण एवम् कूटनीतिक माध्यमबाट यथाशीघ्र हुनुपर्ने पक्षमा नेपाल रहेको जानकारी दिए ।

राजदूतले विकसित पछिल्लो समस्या कुटनीतिक माध्यमबाट समाधनाका लागि पहल भइरहेको जानकारी गराए ।

मन्त्री मंसुरले नेपाली कामदारको हकहितको सुरक्षाका लागि साउदी सरकारसँग श्रम सम्झौता र घरेलु कामदारसँग सम्बन्धित छुट्टाछुट्टै सम्झौताको मस्यौदा मन्त्रालयले तयार गरी परराष्ट्र मन्त्रालयमार्फत साउदी अरेबीयामा पठाउने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

भेटका क्रममा राजदूत हार्थीले नेपालबाट साउदी अरबमा हजका लागि जाने तीर्थयात्रीको सुरक्षा र व्यवस्थापनका बारेमा निश्चिन्त रहन मन्त्री मंसुरलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले साउदी सरकारले नेपाल सरकारलाई विद्युत्, सिंचाइलगायत क्षेत्रमा सहयोग प्रदान गरिरहेको तथा त्यो सहयोगलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री मंसुरले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई अझ विस्तार गर्न र निरन्तरता दिन राजदूतसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *