जाजरकोट: खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोट, जेठ १ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ ।

जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ्ग, गर्खाकोटलगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी हुने गरेको हो । स्थानीय बजारमा उक्त पत्थर किलोको रु एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा रु १५० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ ।

गाउँलेले पटकपटक दैलेखको बाटो हुँदै खनिज बिक्रीका लागि लगेको देखेर आफूले पनि लैजान लागेको बताउने गरेका छन् । साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ्ग गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

बाह्य बजारमा प्रतिकिलोको रु १५ हजारदेखि रु ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको खुलासा भएको मल्लले बताउनुभयो । कर नतिरेको, चोरीको वस्तु निकासी गरेको र सप्लाई अनुमति नभएकाले पक्राउ परेकालाई खानी तथा खनिज पदार्थ ऐनको दफा २५ अनुसार कारबाहीको प्रक्रिया अघि बढाउँदै आइएको छ । ऐनअनुसार लिएको अनुमति रद्द र रु एकलाख जरिवाना हुने व्यवस्था छ । विश्वबजारमा बहुमूल्य सावित काइनाइट, क्वार्ज, टुर्मालिनलगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ । यस्ता पत्थरको चोरी निकासीबाट तस्कर मालामाल भएका छन् ।

खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करले कम मूल्यमा खरिद गर्ने गर्दछन् । पत्थर राजस्व छलेर तस्करले जिल्लाका विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् । जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो । खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ ।यस्तो अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन् । करोडौँ मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ ।

संरक्षण तथा व्यवस्थापन नहुँदा वर्षेनी करोडौँको पत्थर चोरी निकासी हुने गरेको छ । जिल्लाका साविकका दर्जन गाविसका तीन दर्जन खानीमा पाइने उक्त मूल्यवान खनिज पदार्थबाट सरकारी आम्दानी पनि शून्य रहेको छ । खोजतलास तथा उत्खननकर्ताले दशक अघिदेखि मूल्यवान् पत्थर निकासी पैठारी गर्दै आए पनि राजस्व आम्दानी हुन नसकेको हो ।

कानून विपरीत यी मूल्यवान पत्थरको खोजतलास, उत्खनन र चोरी निकासी हुँदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइन्छ । यस जिल्लाको खनिजबाट स्थानीय सरकार, जिल्ला समन्वय समिति र अन्य निकायमा पत्थरको राजस्व आम्दानी शून्य भएको बताएका छन् ।

दर्जन खोजतलास तथा उत्खननकर्ताले जिल्लामा कर नतिरेरै विभिन्न खानीबाट मूल्यवान पत्थरको निकासी पैठारी गर्दै आएको सरकारी अधिकारीको भनाइ छ । यता जुनीचाँदे गाउँपालिकाले खानी व्यवस्थित गर्न विशेष कार्यक्रम शुरु गर्ने बताएको छ ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *