इजरायली सेना र प्यालेष्टाइनीबीच हिंसात्मक झडप, ५५ जना मारिए, २७ सयभन्दा बढी घाईते

काठमाडौं, जेठ १ । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् ।

गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ ।

प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन् ।

इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ ।

प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन् भने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन् ।

जेरुसलममा अमेरिकी दूतावास सार्ने विवादास्पद निर्णयको प्यालेष्टायनले विरोध गर्दै आएको थियो ।

इजरायल र गाजा सीमा क्षेत्रमा केही हप्तादेखि व्यापक विरोध प्रदर्शन भैरहेको थियो । प्रदर्शनको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ ।

प्यालेष्टाइनले अमेरिकी कदमलाई जेरुसलममाथि इजरायलको समर्थनको रुपमा हेरेको र जेरुसलमको पूर्वी क्षेत्रमाथि आफ्नो दाबी गर्देैै आएको छ ।

तर सो शहर कहिल्यै विभाजित हुन नदिने इजरायलको भनाई छ । इजरायल र प्यालेस्टाइन दुबैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन् ।

सन् १९६७ को मध्यपूर्व संघर्षको समयमा इजरायलले पूर्वी जेरुसलम कब्जा गरेको थियो ।

तर यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको थिएन । यता हिंसाकैबीच अमेरिकाले जेरुसलममा आफ्नो दूतावास सारेको छ ।

दूतावास उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारी सहभागी थिए ।

ट्रम्पले भिडियो सम्बोधन मार्फत उक्त समयको लामो प्रतिक्षा गरेको बताउनु भएको थियो ।

उनले चुनावी अभियानमा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसलम सार्ने बताएका थिए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *