बिजिनेशको आइडिया छ तर पैसा छैन ? अब,चिन्ता नलिनुस्

काठमाडौँ। कविराज जोशी उमेरले २७ वर्ष मात्रै भए। त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर जोशीले २०७१ सालमा एउटा नयाँ कन्सेप्टमा काम सुरु गरे( बिजिनेस आइडिया भए पनि पैसा नभएकाहरुलाई पुँजी जुटाइ दिने।

आफूले कम्पनी सुरु गर्दा धेरै नै दुख पाएका कारण नयाँलाई त्यस्तो दुख नहोस् भनेर उनले स्टार्टअप नेपाल नामक कम्पनी खोलेर पुँजी जुटाइ दिने काम थालेका हुन्।

उद्यमी बन्ने इच्छाशक्ति छ। त्यस अनुसार व्यवसाय गर्ने आइडिया पनि छ तर पैसा छैन भने उनीहरूका लागि जोशीको कम्पनीले पुँजी जुटाइ दिने काम गर्छ।

कसरी बनाउँछ उद्यमीर ?
कसैले उद्यम गर्ने सोच बनाइरहेको छ र उसले गर्न चाहेको व्यवसाय फरक तथा सफल हुने खालेको छ भने स्टार्टअप नेपालले पुँजी जुटाइ दिन्छ। बिजनेश आईडियालाई बिजनेश मोडेलमा रूपान्तरण गरेर वास्तविक उद्यमी बनाउने काम स्टार्टअप नेपालले गर्छ।

स्टार्टअप नेपालले इच्छुकहरुलाई सफल उद्यमी बनाउने तालिम दिनुका साथै उद्यम सुरुवात गर्न लाग्ने लगानी पनि जुटाईदिन्छ। त्यसको लागि काम गर्ने प्रतिबद्धता भने जनाउनुपर्छ।

तालिममा रिसर्च गर्ने, मार्केटिङ गर्नेदेखि प्रस्तुतीकरणसम्मका कुरा सिकाईन्छ,जोशीले भने,बिजनेश सुरु गर्दा चाहिने कानुनी सल्लाहदेखि जोखिम बहन गर्नेसम्मका सिप सिकाइन्छ।

उद्यमी बन्ने योग्यता कति ?
स्टार्टअप बिजनेश गर्न ईच्छाशक्ति मात्र भए पुग्छ। अन्य कुनै शैक्षिक योग्यता चाहिँदैन। साधारण लेखपढ गर्नेदेखि जुनसुकै योग्यता भए पनि हुन्छ। गर्न खोजेको बिजनेशसँग त्यस्तै प्रकारको आईडिया भएको अर्को एक जनाको आईडिया पनि मिल्नु पर्छ। तब मात्र आईडियालाई बिजनेश मोडेलमा लैजान स्टार्टअप नेपालले तालिम दिन्छ।

त्यो तालिमको अवधिमा बिजनेश आईडियालाई थप स्किलहरु दिएर मजबुत बनाईन्छ। त्यसमा व्यापार व्यावसाय गर्दा कस्तो खालको सम्भावना र समस्याहरूको सामना गर्नुपर्छ भन्ने कुरा सिकाईन्छ। यी सबै कुरा कम्पनीको कर्मचारीले सिकाउँदैनन्। त्यसको लागि सम्बन्धित क्षेत्रका विज्ञहरुलाई ल्याएर सिकाउन लगाईन्छ। त्यसको लागि ६ दिनको तालिम लिनु पर्छ। २५०० रुपैयाँ लिएर तालिम दिइन्छ।

कति रुपैयाँ लगानी जुटाईदिन्छ
कम्पनीले यती लगानी जुटाईदिने भनेर ग्यारेन्टी गर्दैन। आईडियालाई निखारेर लगानीकर्ताको अगाडि प्रस्तुत गर्न सिकाउँछ। ुलगानीकर्ताले बिजनेश मोडेल मन पाराए भने उनीहरूले नै कति लगानी गर्ने भन्ने कुराको छिनोफानो गर्छन्,जोशीले भने।

तालिम सकेको सातौँ दिनमै लगानी भने गरिँदैन। तालिमपश्चात कम्पनी र लगानीकर्ता दुवैले आइडिया भएकालाई नियाल्छन्। त्यो बिचमा तालिम लिनेले काम सुरु गर्न के कति पहल गरे भन्ने हेरिन्छ। तर स्टार्टअप कम्पनीले आफैले पनि दुई करोड रुपैयाँ सम्म लगानी गर्न सक्ने फण्ड जुटाएको जोशीले बताए।

कम्पनीले अहिले प्रविधि क्षेत्रमा सम्भावना देख्नेहरुको लागि प्रविधिमा लगानी गर्दैछ। कम्पनीका फाउण्डर जोशी भन्छन्, सबैभन्दा अफ्ठेरो समय भनेको बिजनेशको सुरुवात कसरी गर्ने भन्ने नै हो। त्यो समयमा हामीले हातथामी दिन्छौ। बाकी तालिम लिनेहरुको ईच्छाशक्तिमा भर पर्छ।

कम्पनीले यसपछि कृषि वा पर्यटन क्षेत्रमा लगानी गर्ने छ। ईच्छाशक्ती र आईडिया हुँदाहँदै अवसर नपाएकाहरुलाई स्टार्टअप नेपाल एउटा राम्रो प्लेटफर्म दिएको जोशीको दाबी छ। स्टार्टअप नेपालले यसअघि १२ वटा ग्रुपलाई उद्यमी बनाईसकेको छ। उनीहरुमध्ये ७० प्रतिशतले लगानी पनि पाएर राम्रो बिजनेश गरिरहेको जोशीले बताए।

तीमध्ये अहिले फुडमारियो, सजिलो मर्मत, टेकजेनेक्स, ओसार पसार, ओहो सर्भिसिङ, बुढाबुढी, विकल्प कम्युनीटी, सुरु, ईन्जिनियर्स फर नेपाल लगायत १२ बढी कम्पनीले काम सुरु गरिसकेका छन्। (अमर बडुवाल,बिजमाण्डु )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =