फिलिपिन्ससँग खेल्ने टोलीको घोषणा, को परे छनौटमा ?
कात्तिक २७, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाल र फिलिपिन्सबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार हुँदैछ । फिलिपिन्सको राजधानी मनिलामा भएको पहिलो लिग खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फिलिपिन्सविरुद्ध मैदान उत्रने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । फिलिपिन्ससँगको खेलका लागि नेपाली टोलीमा दुई खेलाडीले पुनरागमन गरेका छन् । दुई वर्षबाट टोलीमा नरहेका मिडफिल्डर जगजीत श्रेष्ठ नेपाली टोलीमा परेका छन् । जगजीत अष्ट्रेलियामा रहँदै आएका थिए । तर, उनी गत हप्ता नेपाल फर्किएका थिए ।
त्यस्तै, पछिल्लो खेलमा टोलीमा नरहेका स्ट्राइकर अनिल गुरुङले टोलीमा पुनरागमन गरेका छन् । ५० औं क्याप नजिक रहेका अनिलले मंगलबार नेपालको जर्सीमा मैदान उत्रँदै सन्यास लिनेछन् । मंगलबार अनिलको ५० औं क्याप पुग्नेछ ।
छनोटमा परेका खेलाडीहरुमा किरण लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, कमल श्रेष्ठ, दिनेश राजवंशी, जितेन्द्र कार्की, राजेन्द्र रावल, सुजल श्रेष्ठ, विशाल राई, विक्रम तामाङ, जगजीत श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट, हेमन गुरुङ्ग, हेमन्त थापा मगर, अनिल गुरुङ्ग, विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास छन् ।