सांसद भुसालको प्रश्न, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ?

काठमाडौँ, वैशाख ३१ । माओवादी सांसद पम्फा भुसालले मोदी नेपाल आउँदा भारतीय कमाण्डोको उपस्थितिबारे सवाल उठाएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएकी हुन् ।

मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको भन्दै भुसालले भनिन्, कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम छ ।

भुसालले सांसदमा प्रश्न उठाउँदै भनिन्, ‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ?’

माओवादी प्रवक्तासमेत रहेकी भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले भ्रमणको तिथिमिति घोषणालगायतमा परराष्ट्र मन्त्रालय पछि परेको भन्दै असन्तुष्टि जनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *