तीन तलाकमा टुंगियो विवाह


जेठ–१४ काठमाडौं
मुस्लिम समुदायमा प्रचलनमा रहेको तीन तलाक परम्परा मान्दै नेपालमा एक दुलाहाले विवाह गरिसकेपछि दुलहीलाई तलाक दिएका छन् । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका हुन् ।
भारतको बिहार बेतियानजिकै रहेको मझौलिया
गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले बेहुली मन नपरेको भन्दै तलाक दिएका हुन् ।
मुस्लिम परम्पराअनुसार गत बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद) गरेका थिए । मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ ।
दुलाहासहित जन्ती गाउँलेको कब्जामा
विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् ।
जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।
केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए । ‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् । मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने ।








