दसैंको अवसरमा मोबाइलमा अफरै अफर

भदाै १३, काठमाडौँ । यस वर्षको दसैँ मोबाइल बजार सुरु भएको छ । मोबाइल कम्पनीले दसैँलाई लक्षित गर्दै ग्राहकका लागि विभिन्न योजाना ल्याउनु स्वभाविकै हो । त्यसै अनुरूप मोबाइल हबका रूपमा रहेका केही मोबाइल सेन्टरले ग्राहकलाई लक्षित गरी विभिन्न योजनाहरू सार्वजनिक गरेका छन् । कतिपय सेन्टरमा मोबाइल मेला नै सुरु भएको छ ।सोमबार ललितपुर मोबाइल कम्प्लेक्सले पत्रकार सम्मेलन गरी भदौ १६ गतेबाट मोबाइल एक्स्पो आयोजना हुने जानकारी गराएको छ । जहाँ ग्राहकलाई मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट दिने कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै, ताम्राकार मोबाइल कम्प्लेक्सले पनि सोमाबार विज्ञप्ति सार्वजनिक गरी दसैँ अघि मोबाइल मेला आयोजना गर्ने जनाएको छ । मेला भदौ २२ गतेबाट सुरु हुनेछ । ताम्राकार मोबाइल कम्प्लेक्सले उक्त मेलामा ग्राहकलाई मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट दिने ताम्राकार मोबाइल व्यापार सङ्घका अध्यक्ष जगत साउदले जानकारी दिनुभयो ।

विश्वज्योति मलमा फेस्टिभ कार्निभल नै सुरु भइसकेको छ । कार्निभल भदौ २० गतेसम्म चल्नेछ । उक्त कार्निभलमा पुराना मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिनुभयो । त्यस्तै, बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ । १७ दिने उक्त सेल मेलामा ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस क्रममा मोबाइल बजारले यस्तो अफर ल्याउनु ग्राहकका लागि फाइदाको कुरा हो । ग्राहकले एकातिर कम्पनी आफैँले ल्याएका दसैँ योजनामा सहभागी हुन पाउनेछन् भने अर्कोतर्फ यस्ता बजारले दिने योजनाको ग्राहकले फाइदा उठाउन सक्नेछन् । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष बस्नेतका अनुसार ग्राहकले यस्ता योजनाबाट राम्रो फाइदा लिन सक्नेछन् । एकैपटक दुवै योजनामा सहभागी हुँदा ग्राहक लाभान्वित हुने बस्नेत बताउँछन् । उनका अनुसार यस्ता योजनाले मोबाइल बजार उकास्न मद्दत गर्नेछ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा भदौ १६ गतेबाट मोबाइल एक्स्पो २०१७ सुरू हुँदैछ । दसैँ तथा तिहारको अवसर पारेर कम्प्लेक्सले विभिन्न ब्रान्डका मोबाइल फोनको एक्स्पो आयोजना गर्न लागेको हो । मेला भदौ १६ गते सुरु भर्इ २६ गतेसम्म चल्नेछ । एक्स्पोमा ग्राहकले पाँचदेखि ७० प्रतिशतसम्म छुट पाउनेछन् । यसका साथै मोबाइल खरिदमा हात खाली नजाने विभिन्न उपहार योजना ल्याएको आयोजकले जनाएको छ । यस अन्तर्गत पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर प्राप्त गर्न सक्नेछन् ।

न्यूनतम नौ सयदेखि एक लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका फोन उपलब्ध हुने मेलामा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायत मोबाइल खरिदमा लागू भएका योजना एकैसाथ उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =