भारतमा उर्दु अरबी भाषा पढ्ने हजारौं विद्यार्थीको भविष्य अन्यौलमा

परासी, माघ, ४ । नवलपरासीका मुस्लिम विद्यार्थीहरु भारतको मदरसा बोर्डमा उर्दु अरबीको परीक्षा फर्म भर्नबाट बन्चित भएका छन् । नेपालमा उर्दु अरबीको उच्च शिक्षाको व्यवस्था नभएकाले नेपालबाट करिब १० हजार भन्दा बढि मुस्लिम विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न भारत गएको अनुमान छ ।
विद्यार्थीहरुले मदरसामा अध्ययन पछि मदरसा बोर्डबाट मार्कसिट पाउने व्यवस्था थियो । तर, कक्षा १० देखि स्नाकोत्तर सम्मको उर्दु अरबी शिक्षा हासिल गर्न भारत गएका विद्यार्थीका लागि मदरसाबोर्डको रजिष्ट्रारले यस वर्षदेखि आधार कार्ड नभएकाले फर्म भर्न नपाउने निर्णय गरेपछि हजाराैं विद्यार्थीहरु परीक्षा फर्म भर्न बाट बन्चित भएका हुन् ।

विगतका वर्षहरुमा उर्दु अरबीको उच्च शिक्षा हासिल गर्न भारत गएका ति विद्यार्थीहरु मदरसा बोर्डबाट परीक्षा दिई आफुले अध्ययन गरेको कक्षाको मार्कसिट हासिल गरिरहेका थिए तर यसवर्ष उत्तर प्रदेशले युपी मदरसा बोर्ड लखनउको परिक्षा फर्म भर्न सबै विद्यार्थीहरुलाई आधार कार्ड अनिवार्य गरेपछि नवलपरासी र नेपाली भरिका मुस्लिम विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो ।
यसै जनवरी महिनामा १० दिनका लागि खुलाइएको परीक्षा फर्म भारतीय विद्यार्थीहरुले आधार कार्ड पेश गरी आफनो फर्म भरिरहदा यता नेपाली विद्यार्थीहरुले पनि आफ्नो पहिचान नेपाली नागरिकता पेश गर्दा सो मदरसाबोर्डले नमानेपछि ति विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको फैजाने अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनले बताए ।
नवलपरासीमा उर्दु अरबी शिक्षा हासिल गर्ने २ हजार भन्दा बढि विद्यार्थीहरु रहेका छन् । नेपालमा सरकारले उर्दु शिक्षाका लागि मदरसाहरुमा (विद्यालय) कक्षा ५ सम्मको पठन पाठन गराउने अनुमति मात्र दिएकाले उच्च उर्दु शिक्षा (उर्दु धार्मिक) हासिल गर्न नेपाली मदरसाका विद्यार्थीहरु भारतको विभिन्न मदरसाहरुमा जाने गरेका छन् । भारतले मदरसाहरुमा उर्दु अरबी शिक्षाको कक्षा १० का लागि मौलवी, प्लस टुका लागि आलिम, बैचलका लागि कामिल मास्टर डिग्रीका लागि फाजिल कोर्षहरुको पढाइ गरी मार्कसिट दिने गरेको छ ।
ईस्लाम धर्मको धार्मिक पढाई अन्तर्गत उर्दु अरबी शिक्षा हासिल गर्न नेपालबाट १० हजार भन्दा बढि विद्यार्थीहरु भारतमा गएको मदरसा ईस्लामिया संघ नवलपरासीले जनाएको छ । मदरसामा पढ्न गएका ति विद्यार्थीहरुले आफु पढेको कक्षाको परीक्षा फर्म भर्न नपाउँदा अत्यन्तै दुखी बनेकोे तन्जिमुल ओल्मा युनियनका अधयक्ष उमर निजामीले बताए ।
एक त भारतबाट हासिल गरेको उर्दु अरबी मार्कसिटको नेपाल सरकारले मान्यता नदिने अर्काे तर्फ नेपालमा उर्दुको उच्च शिक्षाको कुनै व्यवस्था नहुने समस्याले मुस्लिम समुदायका विद्यार्थी समस्यामा परेको विद्यार्थी ताजुद्दिन अंसारीले गुनासो गरे ।
त्यसैबिच फैजाने अहले बैत संस्था र तन्जिमुल ओल्मा युनियनले जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाउदै यस समस्यालाई नेपाल सरकारले भारत सरकार संग छलफल गरि सामाधान गर्न आग्रह गरेका छन् ।
संस्थाको अगुवाईमा जिल्लाका मौलना र विद्यार्थीहरु ज्ञापन पत्र बुझाउदै नेपालमै उच्च उर्दु शिक्षाको व्यवस्था मिलाउन, उर्दुका मार्कशिटलाई नेपालमा ईक्युभाईलेन्ट गरि मान्यता दिन र भारतमा परिक्षाबाट बन्चित भईरहेका विद्यार्थीहरुको समस्या सामाधान गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।








