बाजा बजाएर मनोनयन दर्ता, राजपाका ४० कार्यकर्ता पक्राउ

नवलपरासी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिकामा बाजा बजाएर उल्लासपूर्ण ढंगले उम्मेदवारको मनोनयन दर्ता भएको छ । नवलपरासीलाई दुई वटा प्रदेशमा विभाजित गरिएको छ । आठ स्थानीय तहमा गत वैशाख ३१ गते नै निर्वाचान भइसकेको छ । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरिएकोमा राष्ट्रिय जनता पार्टीबाहेक सबै दलले उम्मेदवारी दर्ता गराएका छन् ।

बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा काग्रेस, एमाले, माओबादी केन्द्र, संघीय समाजबादी पार्टी, फोरम लोकतान्त्रिक, राप्रपा, राष्टिय जनमुक्ति पार्टीलयागतका दलले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका सरावल, सुस्ता, प्रतापपुर र पाल्ही नन्दनमा पनि राजपा बाहेक २० दलले मनोनयन दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश नम्बर ५ अन्र्तगत नवलपरासीको परासी क्षेत्रमा मधेशी मोर्चाको बन्दका बावजुत पनि उल्लासपूर्ण तरिकाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सदरमुकाम परासी क्षेत्रलगायतका आसपासका क्षेत्र बन्द भए पनि निर्वाचन कार्यालय आएर उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् । १२० मतदान केन्द्र कायम गरिएको जिल्लामा एक लाख ७३ हजार १३ जना मतदाता रहेका छन् । आन्दोलन थप हिसांत्मक हुने आशंकामा प्रहरीले मधेशी मोर्चाका ४० कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
साथै सुनवल र बर्दघाट नगरपालिकामा कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपालगायतका दलले बाजागाजासहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।








