इटहरी यातायात कार्यालयमा ६२ करोड अनियमितता भएको खुलासा

४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अञ्चल यातायात कार्यालय कोशीमा राजस्व हिनामिना गर्ने ८ सरकारी अधिकारी विरुद्ध आज आइतबार विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ । इटहरी स्थित यातायात कार्यालयमा रहेर अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारी सहित ८ जना विरुद्ध विशेष अदालतमा झण्डै ६२ करोड बराबरको अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गर्न लागिएको हो ।

यातायात कार्यालयबाट उठेको राजस्व अनियमितता गरेको आरोपमा अख्तियारले ८ कर्मचारी विरुद्ध मुद्दा दायर गर्ने तयार गरेको हो ।
‘सेवाग्राहीसँग उठाएको राजस्व नै सरकारी खतामा नराखेको पाइयो’ अख्तियार स्रोतले भन्यो, ‘यातायात कार्यालयमा हुने अनियमतितालाई यो मुद्दाले प्रतिबिम्बित गर्छ ।’
अख्तियार स्रोतका अनुसार केही पूर्व कार्यालय प्रमुख सहित प्रशासन, लेखा र कम्प्युटर फाँटमा काम गर्ने कर्मचारी यो मुद्दामा तानिने छन् ।








