चौध वर्षको उमेरमा विवाह, २० वर्षभित्रै दुई श्रीमानबाट दुई सन्तान

रोल्पा, चैत १९ । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन ।

बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ ।

“जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका अभिभावक बालविवाहले निम्त्याउने समस्या तथा चुनौतीका बारेमा जानकार हुँदैनन् तबसम्म जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्दैन”, पूर्व शिक्षक खोविलाल सुवेदी भन्छन् ।

उमेर नपुग्दै विवाह गर्ने र दुई तीन सन्तानका आमा बन्नु उनीहरुको रहर नभएर बाध्यता भएको पीडित महिलाको भनाइ छ ।

रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्षकी छिन् । यतिबेलासम्म उनी दुई सन्तानकी आमा बनिसकेकी छिन् । ती दुई सन्तान उनको दुई श्रीमानबाट जन्मिएका हुन् । उनले पहिलो श्रीमान सँग सम्बन्धविच्छेद गरिसकेकी छिन् भने हाल दोस्रो श्रीमानबाट दोस्रो बच्चासमेत जन्मिसकेको छ ।

“लगातार तीन दिनको बिरामी परेर ममाथिकी दिदीको मृत्यु भएपछि मलाई आफ्नै भिनाजुले केहीवर्ष पहिले श्रीमतीका रुपमा उनको घरमा भित्राएका थिए । तर भिनाजुको श्रीमती बन्नु मेरो रहर होइन बाध्यता थियो,” चाहनाले भनिन् । भिनाजुले दिदी मरे लगत्तै आफूलाई साथ दिन हारगुहार गर्न थाले । तिमीलाई तिम्री दिदीलाई भन्दा सुखसँग राख्छु, जिन्दगीभरि दुःख दिन्न । यदि मलाई साथ दिएनौँ भने तिम्रै घरमा झुण्डिएर मर्छु भन्दै बिलौना गर्न थाले । त्यसबेला म कक्षा ८ मा पढ्दै थिएँ । मलाई आफूभन्दा करीब १५ वर्ष जेठो भिनाजुसँग बिहे गर्ने नभएपनि बिलौना सुनेर मेरा बुबाआमाले पनि भिनाजुलाई साथ दिनुपर्ने बताउन थालेपछि म बन्धनमा परेर भिनाजुको घरमा भित्रिएकी थिएँ ।

भिनाजुले मेरो सिउँदोमा सिन्दूर लगाउन नपाउँदै म दुई जिउकी भएँ उनको घरमा म भित्रिएको करीब साडे एक महिनामा उनी धन कमाउने बहानामा भारतको सिमलाका लागि घरबाट हिँडेका थिए । उताबाट पर्केर बिहे गर्ने बाचा गर्दै मलाई झुठा आश्वासन बाँडेर हिँडेका भिनाजुले रोल्पाको सुलिचौरबाट अर्की श्रीमती लिएर हिँडेछन् ।

करीब ८–१० दिनसम्म त मैले गरेको फोन उनले उठाउँथे । त्यसपछि न फोन सम्पर्क गरे न त मैले गरेको फोन नै उठाउँथे तर पनि सुखदुःख सहँदै म उनको घरमा करीब १४ महिना बसे त्यसैबेला छोरी जन्मिई । श्रीमान् बनिसकेका भिनाजु घर फर्कंदा अर्की श्रीमती लिएर आए र मेरो वास्ता गर्नुको साटो उल्टो मलाई धम्कीदिने थर्काउने गर्न थाले । त्यसपछि म असह्य पीडाको भारी बोकेर त्यो घरबाट निस्किएँ । त्यसपछिका दिनमा एक्लो जीवन जीउन नसक्ने भएकाले मैले पनि करीब दुईवर्ष पहिले दोस्रो बिहे गरेँ । “केटामान्छेको जात स्वार्थी हुन्छ भन्ने सुनेकी थिएँ हो रैछ । पहिलो सन्तानले बाभन्दा भक्कानो फुट्छ अहिले दोस्रो सन्तानकी आमा बनिसकेकी छु”, भावुक बन्दै उनी भन्छिन् ।

यस्तै रोल्पा नगरपालिकाकी मीना विष्ट हाल १९ वर्षकी छिन् । आफ्नै दाइसँग इँटाभट्टामा घुम्न पुगेकी मीनाले १४ वर्षको उमेरमा पहिलो श्रीमानसँग प्रेम विवाह गरेकी थिइन् । हाल उनी पनि दुई श्रीमानका दुई सन्तानकी आमा बनिसकेकी छिन् । बिहे गरेपछि बेवास्ता गर्ने, खान लगाउन नदिने र कुटपिट गर्ने गरेकै कारण मीनाले पहिलो श्रीमान् छोड्नुपरेको थियो । “पहिलो श्रीमानले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे ग¥यो तर वाचा पूरा गरेन । जसका कारण उसको घर छोडेर केही समय माइतीमै बसेँ । माइतीमा बसेकै बेला कामको खोजीमा काखको नानी च्यापेर इँटाभट्टा पुगेकी थिएँ त्यसैबेला दोस्रो बिहे गरेकी हुँ”, मीना भन्छिन् ।

चाहना र मीना त प्रतिनिधि पात्रमात्र हुन् रोल्पामा यस किसिमका विवसता बोकेर जीवन जिउन बाध्य भएका किशोरीको संख्या ठूलो छ । उनीहरु दुवैजनाको पहिलो श्रीमानबाट जन्मिएका सन्तानसमेत आमाकै संरक्षणमा बस्दै आएका छन् । यसरी अबोध अवस्थामा आफूलाई जन्मदिने बाबुको माया नपाउँदा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर त पर्छ नै त्योभन्दा बढी आमाले दोस्रो बिहे गर्दा उनीहरुलाई छुट्टै पीडामा जिउनुपर्दा कुलतमा लाग्ने, पढ्नुको साटो कलिलो उमेरमा कामको खोजीमा भौँतारिन बाध्य छन् । यस किसिमका बालबालिका अभिभावकको मायाका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *