कांग्रेस नेता खड्काको आर्यघाटमा दाहसंस्कार गरिंदै

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिवंगत खुमबहादुर खड्काको पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदैछ । कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीपछि खड्काको अन्तिम संस्कारका लागि अपराह्न शवयात्रा निकालिएको थियो ।

शव यात्रा सुरु हुनुअघि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । देउवाले खड्काको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर सम्मान व्यक्त गरे । नेता खड्काप्रति श्रद्धाञ्जली दिन एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, नेता जनार्दन शर्मा र राप्रपा अध्यक्ष कमल थापा पनि सानेपा पुगेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसका सयौं नेता कार्यकर्ताको भीड लागेको थियो । शव यात्रामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता, दिवंगत खड्काका आफन्तजन लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो ।

आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि दिवंगत नेता खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको थियो।

खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो ।

तर, उपचारको क्रममा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *