स्थानीयको कुटाईबाट वडाध्यक्षको मृत्यु

विराटनगर, चैत १७ । पाँचथरमा स्थानीयको कुटाईबाट वडाअध्यक्षको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

ति बाबुछोराले चैत ११ गते वडाअध्यक्ष तिम्सिनालाई कुटेका थिए । हिलिहाङ–७ स्थित तम्फुला सडक आयोजनाको अनुगमन गर्न गएका तिम्सिनालाई सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर कुटपिट भएको थियो ।

तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए ।

कुटपिटपछि शारीरिक र मानसिक रुपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिम्सिनाको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

यसैबीच, हिलिहाङ गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *