ढड्डु मुसाको बकबक 

कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः “”राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।  …….””

ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर र्फकन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।

एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा सुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।

सपनामा पनि टाटे र पाटे दुबैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे ‘कुइँ कुइँ’ करायो । पाटे पनि खाटमुनिबाट निस्केर ‘म्याउँ म्याउँ’ गर्न थाल्यो ।

“”हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।”” मैले भनेँ । ती दुबै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः

“”यो घरमा आउँदा सुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो । ….””

“”होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुबैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?”” अचानक पाटेले आफू निर्दोष भएको कुरा सुनायो ।

“”मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।”” टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।

“”त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।”” पाटे बिरालोले भन्यो ।

उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, “”हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।”” यति भन्दै ऊ मज्जाले हाँस्यो ।

“”कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?”” कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । “”त्यो दिन झण्डै हामी दुबैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुपर्यो । किन यस्तो बदामासी गरेको ?””

मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, “”तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !””

मुसाको कुरा सुनेर मलाई रिस उठ्यो । “”मेरो घरमा बसेर मेरै साथीहरुलाई तैँले धम्की दिने ? पख तँलाई ।”” मैले भनेँ ।
मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो । उसले भन्यो, “”यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी । तिमी यो घरमा आएको कति वर्ष भयो भन त ? हामी त यहाँ पुस्तौँ पुस्तादेखि बस्दै आएका छौँ । वास्तवमा यो घरको मालिक हामी पो हौँ । तिमी त किराया तिरेर बसेका हौ ।””

उसको कुरा सुनेर कसलाई रिस नउठला ? मैले भनेँ, “”मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्र्छौ ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।””

“”भो भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मदत लिनु पर्दैनथ्यो ।”” यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन । ‘ङ्यार्रर्र’ गरेर रिस पोख्यो ।

कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, “”अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।””

“”जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?”” दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।

ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, “”कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।””

“”मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?””

ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस मर्यो । “”तिमीलाई कस्तो कथा मनपर्छ ?”” मायाले ढड्डु मुसासँग सोधी ।

“”मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जंगलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?””

ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, “”अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्न’पर्छ बुझ्यौ ?””

“”त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।”” डढ्डु मुसाले भन्यो ।

उसको कुरा सुनेर मलाई रिस उठ्यो, “”कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?””

“”ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।”” भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।

हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, “”मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?””

“”त्यो त हो । तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन ।”” पाटेले भन्यो ।
उसको कुरा टुंगिन नपाउँदै टाटेले थप्यो, “”हो । मलाई पनि अरु पशुपंछीले कुकुरलाई हेपेको, कुकुरलाई मुर्ख बनाएको कथा मनै पर्दैन ।””

तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, “”हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्को पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।””

“”भो, भो । धेरै अर्ति उपदेश दिनु पर्दैन । लडाइँ, झगडा, ढिस्युँढिस्युँ भएन भने कसले सुन्छ तिम्रो कथा?”” दुलोबाट निस्केर ढड्डु मुसाले फेरि बकबक गर्न थाल्यो । उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो । रिसले उसले आँखा देखेन । झ्वाम्म झम्टिहाल्यो । बिजुली चम्केझैँ ढड्डु मुसा दुलोभित्र लुकिहाल्यो । बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो । उसको मुखमा घाउ भयो ।
“”हाऊ.. हाऊ ।”” पाटेको समर्थनमा टाटे जोडले भुक्न थाल्यो । माया रमाइलो मानेर हाँसिरही ।

२४ मई २००७ (२०६४ जेठ १०), विहीबार । 

(बालसंसार.com)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *