पर्सा: डाका पक्रन खटिएको प्रहरी टोलीमाथि आक्रमण, ५ प्रहरी घाइते

वीरगञ्ज, चैत १७ । पर्सामा प्रहरी टोलीमाथि आक्रमण भएको छ । डाका पक्रन खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् ।

डकैती गरेर लुकेर बसेको आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । घटनामा सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएका छन् ।

घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन । प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन् । पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो । तर, लगत्तै स्थानीय प्रहरीमाथि जाइलागेको पर्सा प्रहरीले जनाएको छ ।

फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०, १५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ । स्थानीय जिर्योधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *