धरान खानेपानी विवाद समाधान गर्न समिति बनाउने निर्णय, होला त विवाद समाधान ?

धरान, चैत १७ । धरानको खानेपानी ट्याङ्की निर्माण गर्ने सन्दर्भमा भएको विवाद समाधानको लागी एक समिति बनाउने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकामा शुक्रबार भएको तीन घण्टा लामो बर्तापछि धरान उपमहानगरपालिका र विजयपुर दरबार क्षेत्र परीसर संरक्षण संघर्ष समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

विवाद समाधानको लागी ‘विजयपुर सव सिस्टम विवाद समाधान समिति’ गठन गर्ने र समितिमा धरान उपमहानगरपालिकाको तर्फबाट ५ जना र संघर्ष समितिको तर्फबाट ५ जना सदस्य रहने गरी शनिबार १० सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय भएको हो ।
बैठकले १० दिन भित्र प्रतिवेदन बुझाउने गरी समय सिमा समेत तोकेको छ ।

विवाद समाधान समिति गठन गर्ने निर्णय गरेसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने र खानेपानी आयोजनाले पनि तत्कालका लागि ट्याङ्की निर्माण कार्य रोक्ने सहमति भएको धरान उपमहानगरपालिका मेयर तारा सुब्बाले जानकारी दिएका छन् ।

खानेपानी ट्याङ्की निर्माण गर्न सबै विकल्प खोज्न दुवै पक्ष तयार समेत भएका छन् । बार्तामा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुदिप पोखरेल, १५ नं. वडाध्यक्ष नरेश इवारम र खानेपानी आयोजना प्रमुख राजु पोख्रेल, त्यस्तै गरी संघर्ष समितिका संयोजक थाङसाङ लावती, सह–संयोजक देब सुब्बा, सचिव प्रदीप नोयोङ, सदस्य अमर इजम लगायतको सहभागीता रहेको थियो ।

विजयपुर दरबार क्षेत्रमा खानेपानी ट्यङ्की निर्माण गर्दा हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेटिने भन्दै स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । राष्ट्रिय सम्पदा बिजयपुर दरबार परिसरको संरक्षणका लागि भन्दै सर्घष समितिको आयोजनामा गत सोमबार पानी ट्याङ्की निर्माण स्थलमा अनसन समेत बसेका थिए ।

त्यसअघि खानेपानी ट्याङ्की निर्माणस्थलमा निर्माण कार्यका लागि लगिएको डोजर स्थानीयले तोडफोड गरी फर्काईदिएका थिए । त्यसक्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

हजारौं वर्ष पुरानो इतिहास बोकेको बिजयपुर राज्य, त्यस वरपर रहेका अन्य ऐतिहासिक सम्पदाहरूको खोज अनुसन्धान, प्रचारप्रसार र संरक्षण हुन नसक्दा यहाँको अस्तित्व सङ्कटमा परेको सङ्घर्ष समितिका संयोजक थाम्सुहाङ लावतीले बताए ।

हालको धरान उपमहानगरपािलका १४ तत्कालीन बिजयपुर दरबार राज्यमा पर्ने विभिन्न पौराणिक तथा ऐतिहासिक स्थलहरू भग्नावशेष दरबार, ढुंगेधारा, पार्टीपौवा, आदि क्षेत्रको संरक्षण, सम्बद्र्धन, पुनःनिर्माण र प्रचारप्रसार गर्न सके एतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुने स्थानीय बासिन्दाहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *