स्वर्गीय नेता खुमबहादुर खड्का – पटक-पटक मन्त्री, यसरी भए लोकप्रिय

काठमाडौँ, चैत १७ । पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो ।

बाबु कांग्रेसको जिल्लास्तरीय नेता भएपछि कांग्रेसको राजनीतिमा डोहोरिएका खड्का पञ्चायतकालमा भारत निर्वासित भएका थिए । ०३३ मा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा उनी पनि सँगै थिए ।

०५९ मा कांग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री भए । तर, भ्रष्टाचार मुद्दा लागेपछि ११ महिनापछि पुनः संस्थापनतिर फर्किए ।

०४८ मा दाङ २, ०५१ मा दाङ ४, ०५६ मा दाङ १ बाट संसदीय निर्वाचनमा विजयी उनी कांग्रेस नेतृत्वमा सरकार बन्दा तथा सरकारमा कांग्रेस सहभागी हुँदा अधिकांश समय कुनै न कुनै मन्त्री भए ।

दाङबाट कांग्रेसको राजनीति थालेका खड्का ०४८ मा निर्माण तथा यातायात र ०५२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भएको थिए ।

०५२ कै असोजमा मन्त्रालय हेरफेर हुँदा उनी गृहमन्त्री बने । ०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खड्का पुनः गृहमन्त्री भए । ०५५ वैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री भए । ०५६ मा कांग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथा हेरफेर हुँदा निर्माण तथा यातायातमन्त्री भए । भट्टराईपछि गिरिजाप्रसाद कोइराला ०५६ चैतमा प्रधानमन्त्री बन्दा खड्का जलस्रोत र निर्माण तथा यातायातमन्त्री भए ।

०५८ साउनमा देउवा प्रधानमन्त्री हुँदा खड्का गृह र स्थानीय विकासमन्त्री भए । त्यसयताका सरकारमा भने खड्का मन्त्री हुन सकेनन् । दुईपटक गृहमन्त्री हुँदा उनको चर्चा निकै चुलिएको थियो । उनले प्रहरी संगठनमा पकड बनाउनेदेखि आफूनिकटका नेता–कार्यकर्तालाई व्यवस्थापन गरेको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *