आमा (कविता)
“
मेरै आँखाअगाडि
भागिरहेको थियो एउटा मान्छे
हस्याङ्फस्याङ गर्दै भीडबाट
जस्तोस् अपराधी भाग्छ
प्रहरीको घेरा तोडेर ।
त्यहीँ थिइन् एउटी बूढी आमा
खोजिरहेकी थिइन् केही कुरा
सकिरहेकी थिइनन् हिंड्न
सकिरहेकी थिइनन् बोल्न
जस्तोस् गुँडबाट बचेरा हराउँदा
माउ चरीले गुमाउँछ होसहवास
र हाँगामा बसेर गर्छ बिलौना ।
सुन्न सक्थिनन् कान
देख्न सक्थिनन् टाढाको दृश्य
आमा हृदय तर भएको थिएन उनको पथर
मन रोएर आँखाबाट भेल बग्दै गर्दा
सम्झिइन् ओछ्यानमा सुतेर
बिरामी पतिले भनेको कुरा
नरो छोरो छ, पाल्छ तलाईं
मन दरो बना, एउटै काल आउदैन हेर
लोग्ने स्वास्नीको ।
पति खस्दा
छोरो हेरेर आधा मात्रै रोएकी ती बूढी आमा
पाली पारेर निधारमा दाहिने हातको
हेर्न थालिन् चारैतिर
जस्तो लाटोकोशेराले हेर्छ चारै दिशा सहजै
अनि डराएको मनले
पर्खिदै थिइन् त्यही भाग्ने छोरो
र भन्दै थिइन मनमनै
माग्नेछु यी पशुपतिसँग
छोराका लागि उज्यालो भविष्य
र मेरा लागि
सहज बुढेसकाल र मृत्यु
भोलेनाथ !
शङ्कर !
तिमीमा शक्ति छ भने
बोलाइदेऊ मेरो छोरो
म सन्तानको नाममा तिम्रा अगाडि
आमा पीडाको सुनाउन सक्छु
जुन अनुभव तिमीसँग छैन ।
त्यही बेला
ती बूढी आमाजस्तै
अर्की बूढी आमा
उनकै छेउमा आएर भनिन्
बजै ! ए बजै !
छोरो पर्खेकी तिमिले ?
नपर्ख छोरो
हामी त पर्खन्नौँ
पर्खाउने छोरा छोरीहरू
लिन आउँदैनन् कहिल्यै
पर्खिनु बेकार छ ।
उठ ! बजै ऊ त्यो पर
लाइनमा बस
त्यो तिम्रो र हाम्रो
मृत्यु कुर्ने लाइन हो
त्यहीँ आउँछन् औंसी पूर्णे
मुठी चामल बोकेर
अरुले नै पाएका
मन र मुटु भएका छोराछोरीहरु
उनीहरूकै मुहारमा हेरौँला हामी
कोक्रो र लिटोको संस्कृति
त्यहीँ भेटिन्छ सन्तानको माया
त्यहीँ हुन्छ हाम्रो जिन्दगीको अब अन्तिम भोज।
बूढी आमा जादैथिइन लाइनमा
अर्की बूढी आमासँगै
मनमनै भन्दै थिइन्
यी आराध्य देव पनि
शक्तिहीन रहेछन्
खै त सकेका फर्काउन
खै त मेरो आँसु बुझेका यिनले ?
तर
आमाको छाती हो
मनमा छोराप्रति हरि राखेर
उसैको उज्यालो
भविष्यको कामना गर्दै
आफूजस्तै छोडिएकाहरूको समाजशास्त्र पढ्न
जादैथिइन मलामी हिँडाइमा
टेक्दै टेक्दै उमेरको लौरो
भेट्नलाई सायद सन्तानको माया
खानलाई सायद अन्तिम भोज
कुर्नलाई सायद मृत्युको मिति ।
त्यतिबेला
मेरो हात समातिरहेकी मेरी आमा
मेरा आँखामा एकोहोरो हेरिरहेकी थिइन्
न म बोलेँ
न आमा बोलिन्
आमाले मेरो हात झन दह्रो समातिन ।
“