‘बिहे त गर्ने हो, के गर्नु गर्लफ्रेन्ड छैनन्’

मैना मेरो माया छ की छैन
दुई दुना चार साथी जाउन हुक्का बार
हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु
सनसनी सनसनी यो मुटु खाइरने

जस्ता २ सय भन्दा बढि गीत गाएका गायक टंक तिमल्सिना यतिबेला नेपाली सांगितिक आकाशमा चम्किईरहेका छन् । सुदुर पश्चिमको अछाम घर भएका तिमल्सिना आधुनिक लोक पप प्याट्रनका गीत ज्यादा गाउन मन पर्छ । त्याे सँगै सुदुरपश्चिमकाे देउडा भाका उनकाे फेवरेट हाे । राजधानीको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितालाई नियाल्न आएका गायक तिमल्सिनासँग गरिएको छोटो कुराकानीः

यहाँले गाउन कहिले सुरु गर्नु भयो ?

मैले २०६८ सालबाट गीत गाउन सुरु गरेको हुँ ।

गायन क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?

पहिला प्लस २ पढ्दा म नेपालगञ्जको रेडियो भेरी आवाजमा काम गर्थें । रेडियोमा काम गर्दागर्दै ‘ओहो गीत गाउनु पर्छ है’ भन्ने कुरा भयो, अनि गाउन सुरुवात गरे । त्यो बेलामा रेडियोमा काम गर्दै गाउन सुरु गरें ।

कस्ता खालका गीतहरु गाउन बढि मन पर्छ ?

सबै खालको गीतहरु गाउन मन पर्छ । प्रायः मेरा गीतहरु नाच्ने खालको गीत भएकाले धेरै गाउँछु । अझ धेरै त स्टेजमा गीत गाउँदा एकदमै रमाइलो लाग्छ । धेरै स्टेज सो पनि गरेको छु । अहिलेसम्म नेपाल बाहिर ५ वटा देश गैसकेको छु । नेपालमा पूर्वतिर बाहेक सबै ठाँउमा गाएको छु ।

गायन क्षेत्रमा लाग्दा परिवारको सहयोग कस्तो थियो ?

मेरो घर अछाम हो, जहाँ गीत गाउने र नाच्नेलाई त्यत्ति राम्रो मान्दैनन् । सुरुमा मेरो परिवारको पनि मलाई खासै सहयोग भएन । त्यसो हुनुमा शिक्षाको कमीले पनि हो ।

परिवारको सरसहयोग बिना नै अगाडि बढ्नु अति नै जटिल थियो । त्यसैले शुरुमा धेरै मेहनत गर्नुपर्यो । अब अहिले आएर यहि क्षेत्रमा सकृय हुँदा र राम्रा गीतहरु गाएपछि राम्रो मानेका छन् ।

आज भोली के मा व्यस्त हुनुहुन्छ ?

अहिले म स्टेज प्रोग्राममा व्यस्त छु । सुदुरपश्चिमबाट अस्ति भर्खर फर्केको हुँ, अब फेरि २÷३ दिन पछि स्टेज प्रोग्रामकै लागि विदेश जाँदैछु ।

तपाईले स्टेजमा गीत गाईरहँदा स्रोता र दर्शकहरुको प्रतिक्रिया कस्तो हुन्छ ?

मेरो लाइभ प्रस्तुति धेरै मन मराउनुहुन्छ । दर्शकले अरुको भन्दा राम्रो गाउछु रे भन्नुहुन्छ । युट्युवमा पनि धेरै गीत चलेका छन् । धेरै फ्यानहरु हुनुहुन्छ ।

गीत गाउनु मात्रै हुन्छ कि संगित भर्ने पनि गर्नुहुन्छ ?

म सबै गर्छु । गीत पनि गाउछु, गीत लेखेको पनि छु,संगित पनि भरेको छु, अनि आफ्ना गीतमा आफै मोडलिङ पनि गरेको छु ।

गीत संगितको क्षेत्रमा भविष्य कस्तो छ ?

गर्न सक्यो भने धेरै राम्रो छ । पहिला क्यासेटको जमाना मात्रै भविष्य छैन भन्नेहरु थिए, तर अहिले त्यस्तो छैन । मलाई चाँहि भगवानले ‘तँ आँट म पुर्याइदिन्छु’ भन्या जस्तो भैराको छ ।

सानो छँदा गायक बन्छु भन्ने लागेको थियो ?

नाई..त्यस्तो त मैले कहिले पनि सोचेको थिइन । आफु त डेउडाको खानदानमा हुर्केको मान्छे, गाँउमा अलि अलि गीत गुन्गुनाउथे, ब्यवसायीक गायक बन्छु भन्ने कहिल्लै आएन ।

लक्का जवान हुनुहुन्छ बिहे चाँहि कहिले गर्ने ?

बिहे त गर्ने हो तर, के गर्नु गर्लफ्रेन्ड छैनन् । अब २ वर्ष पछि चाँही गर्छु ।
प्रस्तुतिः प्रतिभा चन्द

https://www.youtube.com/watch?v=So3eaPrGvjo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *