सांसदद्वारा सार्वजनिक बिदा कटौतिको विरोध

काठमाडौँ, चैत १६ । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरे ।

सांसद बडूले दार्चुलाको सिमानामा भारतीय पक्षबाट एकपक्षीय रुपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गरे । उनले जनताका भावनासँग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेर मात्र काममा प्रगति नहुने धारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भए पनि पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करीब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *