सरकारलाई अधिनायकवादी नबन्न कोईरालाको चेतावनी : ‘कांग्रेसले फु गरे सरकार ढल्छ’

दमौली, चैत १५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाएका छन् । उनले सरकारले गलत काम गर्दै गए कांग्रेसले सरकार ढाल्ने शक्ति राखेको चेतावनी समेत दिएका छन् ।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा दमौलीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय अनुसन्धान, राजश्व विभाग, सम्पती सुद्धिकरण कार्यालय प्रधानमन्त्रीको मातहातमा ल्याउनुले सरकारको अधिनायकवादी चरित्र पुष्टि गरेको बताए ।

‘गिरिजाबाबुले २०५१ सालमा एमालेको सरकारलाई ढाल्नुभयो,’ उनले भने, ‘अहिले पनि सरकारले जथाभावी काम गर्दै गए कांग्रेस चुप लागेर बस्दैन । सरकार ढाल्ने शक्ति छ, कांग्रेसले फु गरे सरकार ढल्छ ।’

ओली सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको बताएका उनले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन प्रक्रियादेखि प्रधानन्याधीशको पदमुक्त गर्ने कार्यशैली विधी र प्रक्रिया भन्दा बाहिर भएको उनले बताए । ‘यो कार्यशैली संसदीय पद्धति विपरित छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कार्यशैली लोकतन्त्र नै समाप्त पार्ने मनसायको छ । मुलुक अधिनायकवादतर्फ उन्मुख भएको छ ।’

लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेस चुप लागेर नबस्ने बताएका उनले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रतिपक्षमा रहेको आफ्नो पार्टीले सरकारको गुण र दोष आधारमा समर्थन र विरोध गर्ने भएकाले अधिनायकवादतर्फ अघि बढे सशक्त भएर प्रतिकारमा उत्रने उनले बताए ।

उनले पार्टी कार्यकर्तालाई सन्बोधन गर्दै सशक्त प्रतिपक्ष हुन बलियो कांग्रेस आवश्यक रहेको बताए। उनले गुट उपगुटमा नलागी एकजुट हुनु पर्नेमा जोड दिए।

निर्वाचनमा पार्टीको पराजय बारे केन्द्रीय समितिको बैठक समीक्षा भइरहेको बताएका उनले भने ‘पार्टीको पराजयको जिम्मेवारी लिन सभापति शेरबहादुर देउवा तयार हुनुपर्छ। तर, सभापतिले पार्टी पराजयको नैतिक जिम्मेवारीसमेत लिनुभएको छैन्। यसमा त समस्या छ।’ सभापतिले व्यक्ति नभई पार्टी पराजित भएको स्वीकार गरेर समीक्षा गरेमात्र पार्टी सुधार सुरु हुने उनले बताए। उनले भने ‘नत्र सुधार हुन सक्दैन। तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गरी १४ औं महाधिवेशन गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *