काठमाडाैंमा जग्गा छ, विदेशमा हुनुहुन्छ, साबधान ! दलालले थाहै नपार्इ बेचिदेलान्

चैत्र १५, काठमाडौं । आफ्नो जग्गामा नयाँ घर देख्दा आश्चर्य बेलायतबाट दुई महिनाअघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे ।

न त कसैलाई उनले उक्त जग्गा लिजमा दिएका थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए । अाफु विदेश हुँदा अपरिचित व्यक्तिहरूले उनको जग्गामा घर बनाइसकेका रहेछन् । थाहै नपाई अर्कैको नाममा लालपुर्जा र घरधनी भेट्दा उनी एक्कासी छाँगाबाट खसेजस्तै भए ।

२३ वर्षअघि किनेको जग्गा उनकै नाममा थियो । करिब दुई करोड मूल्य पर्ने जग्गामा लालपुर्जा अरूकै नाममा देखेपछि उनले त्यसलाई विश्वास नै गर्न सकेनन् । मालपोत कार्यालयमा गएर हेर्दा उनी आफैँले उक्त जग्गा बिक्री गरेको रेकर्ड देखियो । तर, उनले जग्गा बिक्री गरेकै थिएनन् ।

विदेश भएका वेलामा एक गिरोहले उनको नक्कली नागरिकता र लालपुर्जा बनाएर अरूलाई नै जग्गा बिक्री गरेको थियो । भूमाफियाको चलखेलमा राईकाे जग्गा गयाे । उनी लामो समयदेखि बेलायत बस्दै आएका छन् ।

उनको परिवारका सबैजसो उतै बस्ने भएकाले जग्गाको ख्याल गर्ने व्यक्ति नहुँदा यसरी जग्गा माफियाले नक्कली लालपुर्जा र नागरिकताका आधारमा किनबेच गरेका हुन् ।

मालपोत कार्यालयका कर्मचारीलाई पैसा खुवाएर दलालले रार्इकाे जग्गा विक्री गरेकाे खुल्न अाएकाे छ । दुई महिनाअघि नेपाल आएका राईले जग्गा हेर्न जाँदा घर बनेको देखेपछि बुझ्दा त्यसरी आफ्नो जग्गा अरूले नै किनबेच गरेको खुलेको हो ।

नक्कली नागरिकता बनाई मालपोतमा अर्को व्यक्तिलाई जग्गाधनीका रूपमा प्रस्तुत गरेर त्यसरी महँगो जग्गा खरिद–बिक्री भएको हो । उक्त घटनामा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूको समेत मिलेमतो देखिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयका कर्मचारीले नक्कली लालपुर्जासमेत नचिन्दा यस्ताे ठगी हुने गरेका छन् । धेरैजसोमा मालपोत कार्यालयका कर्मचारीकै मिलेमतो हुने गरेको छ ।

प्रायः विदेशमा रहेका र जग्गा किनेर त्यसमा खेती नगरी त्यतिकै छाडिदिएका जग्गा खोजेर भूमाफियाहरूले त्यसको नक्कली लालपुर्जा बनाएर ठगी गर्दै आएका छन् ।

नक्कली लालपुर्जा बनाएर जग्गा बेच्ने हरिकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा भट्टराईले उक्त जग्गा आफ्नो नाममा दर्ता गरेर अरूलाई बिक्री गरेका थिए ।

उक्त जग्गा चार जना बीच किनबेच भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । महानगरपालिकाको वडा नम्बर ९ अन्तर्गतको ५५५ नम्बर कित्ताको राईको उक्त जग्गा २ असार ०६५ मा भट्टराईले आफ्नो नाममा नामसारी गरेका थिए । पछि जग्गा टुक्र्याएर पाँच–पाँच आना बनाई दुई व्यक्तिलाई बिक्री गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *