शिक्षक र विद्यार्थी संगठनबीच प्रतिष्ठाको लडाईंले आयोगको परीक्षा अन्यौलमा

काठमाडौं, चैत १४ । यही चैत २३ गते हुने शिक्षक सेवा आयोगको परीक्षा शिक्षक र विद्यार्थी संगठनहरुको प्रतिष्ठाको लडाईंले अन्यौलमा परेको छ । लामो समयदेखि अस्थायी हुनुपरेको पीडाबिच शिक्षकहरुले लगातार आन्दोलन गरेर शिक्षक सेवा आयोग मार्फत स्थायी हुने प्रकृयामा छन् । तर, उनीहरुका अबरोधक बनेका छन् विद्यार्थी संगठनहरु ।

देशभर रहेका करिब २२ हजार शिक्षकलाई स्थायी बनाउन सरकारले शिक्षा ऐनमा नवौं संशोधन गरी आन्तरिक प्रतिष्पर्धामार्फत परीक्षा दिन पाउने व्यवस्था मिलाएको थियो । अघिल्लो सरकारका शिक्षामन्त्री गोपालमान श्रेष्ठको पहलमा गरिएको ऐनको नवौं संशोधन विरुद्ध विद्यार्थी संगठनहरु त्यतिबेलै देखि आन्दोलन गर्दै आईरहेका छन् । शिक्षक अनुमति पत्र लिएर खुला प्रतिष्पर्धाका लागि तयारी अवस्थामा रहेका करिब ६ लाख विद्यार्थीहरु शिक्षा  ऐनको नवौं संशोधनको विरोध गर्दै आएका छन् ।

आठौं संशोधनमा भएको ५१/४९ प्रतिशतको व्यवस्थालाई परिवर्तन गर्दै नवौं संशोधनमा ७५/२५ प्रतिशतको व्यवस्थाको विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । आयोगले सर्वोच्च अदालतमा परेको मुद्दा र चलिरहेको विद्यार्थी आन्दोलनको अवरोधका बीच परीक्षाको मिति तय गरेको थियो ।

यता, अस्थायी शिक्षकलाई प्रकृया पुर्याएर स्थायी गरिनुपर्ने माग विभिन्न शिक्षक संगसंगठनहरुले लगातार उठाउँदै आएका छन् । अस्थायी शिक्षकहरुले त्यसका लागि देशव्यापी आन्दोलन गर्नुका साथै राजधानीमा पटक पटक आमरण अनसन समेत बसिसकेका छन् ।

लामो समयदेखिको अन्यौलका बिच सरकारले अस्थायी शिक्षहरुलाई आन्तरिक प्रतिष्पर्धामार्फत स्थायी बनाउन परीक्षाको मिति त तोक्यो, तर त्यो परीक्षा विद्यार्थी संगठनहरुले विथोल्ने घोषणा गरेका छन् ।

प्रमुख दल निकटका विद्यार्थी संगठनहरुले शिक्षक सेवा आयोगको यही चैत २३ गते हुन लागेको परीक्षा असफल बनाएरै छोड्ने चेतावनी दिएका छन् ।अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले शिक्षण अनुमतिपत्र प्राप्त करिब ६ लाख विद्यार्थीलाई बाहिर राखेर आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्न लागिएको परीक्षा हुन नदिने चेतावनी दिए ।

सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले नै सो परीक्षा विथोल्ने घोषणा गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने परीक्षा स्थगित नहुने बताइसकेका छन् । र, आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् ।

वार्ता समिति गठन भएको भोलिपल्टै भक्तपुरमा आयोजित एक कार्यक्रममा अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउँदो २३ गते जबरजस्ती गर्न खोजिए परीक्षा विथोल्छौं ।’

बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षाशास्त्र संकायका विद्यार्थीको न्यायपूर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसँग माग गरे ।

विद्यार्थीहरु खुला आरक्षण २५ प्रतिशत मात्रै निर्धारण गरीएकोमा विरोध जनाउँदै आमरण अनसन बसेका छन् । उता, सबै अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने मागसहित शिक्षकहरू पनि अनशन बसिरहेका छन् ।

हाल २०७२ साल असोज २ गतेयता नियुक्त भएका अस्थायी र करार शिक्षक गरी १० हजारभन्दा बढी रहेको उनीहरुको दाबी छ । उनीहरुले एकै प्रक्रियाबाट नियुक्ती पाएका शिक्षकहरुलाई विभेद गर्नु नहुने माग राख्दै आएका छन् । हाल मुलुकभर ३० हजारभन्दा बढी अस्थायी शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *