प्रचण्डलाई ‘खुच्चिङ’ भन्ने मानवता हराएकाहरुका नाममा

केशव सापकाेटा

राती साँढे ११ तिर सुत्ने मेरो बानी छ, शनिवार बिहान एक दुई ओटा समाचार अनलाइनमा हालें । त्यसपछि खाना खाएर नुहाईधुवाई गरेर कार्यालयमा १२ बजे डाकिएको एउटा मिटिङका लागि गएँ । सहकर्मी साथीहरू फिलिप जी र सिआर जीसँग भेटघाट पश्चात् खाजा खाएर करिब ७ बजे घर पसें ।

घर पस्दा नपस्दै मेरो देब्रे आँखा फरफरायो । हुन त घटना घट्नु र आँखा फरफराउनुमा कुनै सत्यता नहोला । तथापि, मेरो देब्रे आँखा फरफराएपछि मलाई मेरो अन्र्तआत्मामा ‘अब कुनै नराम्रो घटना घट्छ चाहे मेरो जीवनमा होस् वा अन्य’ भन्नेमा केही शङ्का उब्जाउँछ । दिनभरिको दिनचर्यालाई सरसर्ती ‘रिवाउण्ड’ गरेँ । त्यस्तो केही नराम्रो भएको लागेन ।

त्यसपछि खाना खाएर केही छिन अनलाइन, फेसबुक चलाउँदै टेलिभिजनमा ‘फुटबल हेर्दैथिए । त्यत्तिन्जेलपनि मेरो देब्रे आँखा फरफराई रहेको थियो । मनमा पक्कै केही हुन्छ की भनेर चिन्ता पनि बढ्यो । फुटबल हेरी सकेर करिब १२ बज्न लाग्दा निदाएछु ।

राती ढिलो सुतेपछि बिहान पनि ढिलो नै उठ्ने बाँनी छ । बिहानको सात बज्दो हो, एक्कासि मोबाइलको घण्टी बज्नाले निन्द्रा विथोलियो । नम्बर हेरेँ नचिनेको नम्बरबाट आएछ । उठाउन खोज्दाखोज्दै काटियो । पुनः कल ब्याक गर्ने जाँगर चलेन र, सिरक भित्र छिर्नपनि मन लागेन ।

त्यसपछि उठेर टेलिभिजनमा समाचार हेर्न थालेँ । ‘प्रचण्ड पुत्र प्रकाश दाहाललाई ह्दयघात, अवस्था गम्भीर’ भने ब्रेकिङ हेडलाईनहरु सबै नेपाली च्यानलमा आएको देखेँ । एक छिन निःशब्द भएँ । हिजो बेलुकीसम्म केही नभएको मान्छे रातभरीमा के भयो ! एक छिन अत्यासै लाग्यो ।

स्व. प्रकाश दाहाल

त्यसपछि फेसबुक खोलेर हेर्न थालेँ । मन एक तमास भएर आयो, एकै छिनमा केही मिडियाहरुले प्रकाश दाहालको निधनको पुष्टि गर्न थाले । केही टेलिभिजनले नर्भिक अस्पतालबाट प्रत्यक्ष प्रसारण पनि गर्न थाले, झापाबाट प्रचण्ड, चितवनबाट रेणु दाहाल र कञ्चनपुरबाट प्रकाशकी श्रीमती विना आउने तय भएको समाचार आउन थाले । त्यसविच म पनि आफ्नो नित्य कर्म सकेर कार्यालय निस्किएँ ।

केही महिनादेखि मेरो यात्रा सार्वजनिक बसमा भइरहेको थियो । ९ बजे बस चढेर कार्यालय हिँडेको मान्छे ११ बजेपनि कार्यालय पुग्न सक्दिन । माईक्रोमा सवार सबै यात्रुहरु प्रचण्ड र प्रकाशकै कुरा गर्दै थिए । केहीले प्रचण्ड प्रति सहानुभूति राखे, केहीले भने, ‘१५ हजार मान्छे मारेको निस्कियो’ भन्दै सराप्न थाले । केही त प्रचण्डलाई ‘पाप धुरीबाट कराएको’ सम्म भन्दै तर्क गरे ।

छि, कस्तो दुषित भएछ हाम्रो समाज ! प्रकाशको असामयिक निधनमा प्रचण्डलाई कसरी ‘पाप धुरीबाट करायो !’ आफैँलाई प्रश्न गरेँ । यदि जनयुद्धमा मारिने शहीदका नाममा ‘पाप धुरीबाट कराउने हो’ भने, प्रचण्ड बाबुराम देखि लिएर त्यत्तिबेला सरकारमा रहेका दलहरुदेखि राजा ज्ञानेन्द्रसम्मलाई पाप कराउनु पर्ने हो । जनयुद्धका नाममा संसारमा ठुला क्रान्ति गर्ने लेलिन, स्टालिन, च्वेगेभारा, माओसम्मलाई ‘पाप’ लाग्नुपर्ने हो । त्यहाँ पनि क्रान्तिका नाममा लाखौँ शहीद भएका छन् ।

एउटा लक्का जवानको असामयिक मृत्यु भइरहँदा हाम्रो समाज ताली पिट्ने भएछ । एउटा बाबुले एक्लो छोरो गुमाउँदा हाम्रो समाज ‘खुच्चिङ’ मान्दो रहेछ । मलाई सार्वजनिक स्थानमा कसैका कुरामा पनि प्रतिरोध वा बहस गर्न मन लाग्दैन । चुपचाप सुनिरहेँ । कार्यालयमा आई सक्दापनि यही ‘पाप धुरीबाट करायो’ भन्ने शब्द कानमा गुञ्जिई रह्यो । एउटै कुरा दिमागमा खेलिरहँदा अत्यास लाग्छ ।

यहाँ मलाई चित्न नबुझेको कुरा, हामी कतिसारो निकृष्ट भएछौं, हामी कति निर्दयी भएछौं भन्ने कुरा हो । हामीमा मानवता हराएर राक्षसीपन हाबी त भइरहेको छैन ? भन्ने हो । नत्र प्रचण्डका सबै परिवार शोकमा रहँदा उनलाई ‘खुच्चिङ’ भन्नुको अर्थ के ? एउटा भर्खर जन्मेको कुकुरको छाउरो बाटोमा भोकले छट्पटिइरहेको देख्दा हाम्रो ‘मुटु’ दुख्छ भने, यहाँ एउटा बाबु–आमाले लक्का जवान छोरो गुमाउँदा, दिदीले एउटै भाइ गुमाउँदा, श्रीमतीले सिउँदोको सिन्दूर गुमाउँदा हामी किन ‘खुच्चिङ’ भनिरहेछौं ?
एउटा लक्का जवान छोराको शरीरमा दागबत्ती दिइरहँदा त्यो बुढो बाबुको क्रन्दनमा हामी किन ‘ताली पिटिरहेका छौँ ?’ के हाम्रो धर्म हाम्रो संस्कारले हामीलाई यत्तिसारो निकृष्ट बनाएको हो ? कि १० वर्षको सशस्त्र युद्धले हामीलाई यति कठोर बनाएको हो ? माईक्रोमा ती सज्जनले प्रचण्डलाई इङ्गित गर्दै ‘पापधुरीबाट करायो’ भनी रहँदा प्रचण्डले गरेको क्रान्ति के फगत थियो त ?

विश्वमा कयौँ यस्ता क्रान्ति भए जसमा हज्जारौं बेघरबार भएका छन् । विश्वमा कयौँ यस्ता नरसंहार भए, जसमा लाखौँ मानिसले सहादत प्राप्त गरेका छन् । दुईदुई ओटा विश्वयुद्ध समेत भए । के ती सबै गलत भएका थिए त ? के चीनमा माओले गरेको क्रान्तिबाट मान्छे मरेनन् र ? के फ्रान्स, सोभिएत सङ्घमा भएको क्रान्ति ‘क्रान्ति’ नै थिएन, अर्जेन्टिनामा ‘च्वेग्वाभारा’ भारतमा नेहरुले चलाएको स्वतन्त्रताको आन्दोलन फगत मान्छे मार्न मात्र थियो र ? मार्क्स, लेलिन, स्टालिन, एंगेल्स जस्ता विश्वका चर्चित नेताहरूले चलाएका क्रान्तिलाई हामी ‘हत्या’ को संज्ञा दिन सक्छौँ ? किन हामी अहिलेपनि ती नेताहरूलाई महान् व्यक्ति भन्दै पुज्दछौं ? हामी यी मध्ये कुनैलाई पनि यी आक्षेप लगाउन सक्दैनौं जसले क्रान्तिका नाममा बन्दुक बोकेका छन् । क्रान्तिका नाममा लाखौँलाई हतियार बोकाएर रणभूमिका पठाएका छन् ।

आज हामी प्रचण्डले चालेको १० वर्षे सशस्त्र क्रान्तिलाई गलत भन्दै त्यहाँ मारिएकाहरु प्रति सहानुभूति राख्दै उनलाई ‘राक्षस’ बनाएर ‘पाप धुरीबाट करायो’ भनिरहँदा, १० वर्षे सशस्त्र युद्धलाई गलत भन्दै उनलाई ‘धारे हात’ लगाई रहनुभन्दा त्यो १० वर्षे जनयुद्ध र १५ हजारको सहादतले हामीले के प्राप्त गर्‍यौँ समीक्षा गर्न आवश्यक छ ।

यदि प्रचण्डले जनयुद्धको परिकल्पना गर्दैनथे, यदि उनले सामन्तवाद, साम्राज्यवाद, निरंकुशवादका विरुद्ध ‘जेहाद’ छेड्ने आँट गर्दैनथे भने, यो परिर्वतन हुने थियो त ? अवश्य थिएन । २ सय ४० वर्षसम्म नेपाली जनतामाथि एक छत्र राज गरेको राजतन्त्रको अन्त्य हुन्थ्यो होला र ? कदापि हुँँदैनथ्यो । हामी सबैलाई थाहा छ, राजा विरेन्द्रको बंश नासपछि सत्तामा आएका ज्ञानेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाउँदै उनीहरूलाई नजरबन्द गर्दा प्रजातन्त्र, लोकतन्त्रको दुहाई दिँदै दलहरू राजाका विरुद्धमा रत्नपार्कमा साना झुण्डमा ‘बदाम खानु’ बाहेक केही गर्न सकेका थिएनन् । ०४६ साल यताको बहुदलिय शासन व्यवस्था र भ्रष्टाचारबाट वाक्क भएका जनताहरुलाई दलहरू प्रति एकरत्ति विस्वासै थिएन । त्यही भएर दलहरूका कार्यक्रममा जनता घरबाट निस्कन छाडिसकेका थिए । यस्तो बेलामा तीनै दलहरूसँग प्रचण्डले सहमति र सहकार्यको हात नबढाएको भए राजतन्त्र फालिएर अहिलेको गणतन्त्र, संविधान र सङ्घीयता आउन सक्ने अवस्था थियो र ! अवश्य थिएन ।

मैले यसो लेखिरहँदा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान निर्माणमा दलहरूले केही गरेनन् भन्न खोजेको पक्कै हैन । माओवादीलाई १२ बुँदे सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन दलहरूले त्यस बेला हिम्मत गरेकै हुन् । अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिबन्धमा परेको एउटा सशस्त्र विद्रोही समूहलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट राष्ट्रिय राजनीतिमा स्थापित गराउनु कम चुनौतिपूर्ण काम हैन । तत्कालीन सात दलहरूले त्यो धृष्टता गरे जसले माओवादीको सशस्त्र युद्ध क्रान्तिमा रूपान्तरण भयो । यसमा समय र परिस्थितिले माओवादी र सात दललाई एक अर्कासँग मिलाएको हो । माओवादीलाई अवतरण चाहिएको थियो, दलहरूलाई आफ्नो गुमेको ‘विरासत’ फिर्ता लिनु थियो । र, यो दुवै एकै पटक हुनका लागि माओवादी–सात दलको ‘मिलन विन्दु’ नै मुख्य भयो । यहाँ एक अर्काले मात्र जस लिनु भनेको एक अर्काको अस्तित्व स्विकार्न नसक्नु हो । अहिलेसम्म नेपालमा राजनीतिक स्थिरता नहुनुमा दलहरुमा देखिएको दम्भ पनि हो ।

प्रचण्डले सशस्त्र युद्धमा आफ्ना एउटै छोरालाई समेत समावेश गराएका छन् । कलेज जानुपर्ने समय प्रकाशले बन्दुक बोकेर जङ्गल गएका छन् । यसमा उनको कुनै व्यक्तिगत स्वार्थ थिएन । यदि प्रचण्डले चाहेको भए पक्कै पनि बाबुराम भट्टराईले छोरी मानुषीलाई जस्तो बाहिर राखेर प्रकाशलाई उच्च शिक्षा दिन सक्थे होला, उनले चाहेको भए प्रकाशलाई विश्वका महंगा विश्वविद्यालयमा पठाउँथे होला । तर, त्यसो नगरी १० वर्षको दौरानमा आफू जसरी लुकेर बसे, जसरी खाए, भिर पाखा पहरा हिँडे, प्रकाशलाई प्रचण्डले त्यही गराए । त्यस कारण प्रचण्डले चालेको सशस्त्र जनयुद्धलाई गलत भन्दै प्रकाशको निधनमा ‘पाप धुरीबाट करायो’ भन्दै खुच्चिङ गर्ने अधिकार कुनैलाई छैन । प्रचण्ड र प्रकाश कुनै नयाँ ग्रहबाट आएका थिएनन् की उनीहरूबाट कुनै गल्ती नै नहोस् । मानवबाटै गल्ती हुन्छ । गल्ती भयो भन्दै स्वीकार नै नगर्ने भन्दा गल्तीबाट पाठ सिक्दै अघि बढ्नु ठुलो कुरा हो । प्रकाश पनि गल्तीहरुबाट पाठ सिक्दै अघि बढेका थिए । प्रचण्डले त राजनीतिमा धेरै पटक भनेका छन्,‘म गल्तीबाट पाठ सिकेर अघि बढ्दैछु ।’

संक्रमणकाल र सशस्त्र युद्धमा सरकार पक्ष र विद्रोही पक्षबाट धेरै मानवीय–अमानविय घटना घटे । एउटै घरमा रहेका सबैको त एउटै विचार हुन्न भने, करोडौंहरुका बिचमा फरक विचार र स्वार्थ बोक्नेहरु त नहुने कुरै हुन्न । केही व्यक्ति र समूहले सशस्त्र द्वन्द्वका नाममा त्यस्ता गलत काम गरेकै छन् । सशस्त्र जनयुद्धका नाममा राज्यपक्ष वा विद्रोही पक्ष दुवै तर्फबाट त्यस्ता घटना घटेकै छन् तर, ती घटनालाई एउटै तराजुमा तौलँदै समग्र जनयुद्धलाई नै गलत थियो र, प्रचण्ड नै गलत हो भनेर ‘धारे हात’ लगाउन मिल्दैन । जनयुद्धका घटनाका लागि ‘सत्य निरुपरोण आयोग’ नै बनाइएको छ । नन्दप्रसाद/गंगामाया अधिकारीका छोरा कृष्ण प्रसादलाई बालकृष्ण ढुङ्गेलले जनयुद्धका नाममा गरेको ‘कूकृत्य’ को सजाय ढिलै भए पनि भोग्नै परेन र ! अझ नन्दप्रसाद र गंगामायाकाे नाम बेचेर कराडाैं कमाउने एनजिअाे अाइएनजिअाेकाे फाेहरी क्रान्तिलार्इ हामी के नाम दिने ? यसकारण जनयुद्धका सबै घटनालाई जोडेर प्रचण्डलाई ‘धारेहात’ लाउन मिल्दैन । राजनीतिक सचेतना, राजतन्त्रको अन्त्य, नयाँ संविधान र सङ्घीयता जनयुद्धकै जगमा आएको कुरालाई हामीले भुल्न हुन्न ।

हाम्रो समाजमा नकारात्मक कुरा छिटो विक्छ, सकारात्मक कुरा लुक्छ । अहिले त्यही भइरहेछ, प्रकाशका राम्रा कुरालाई छायाँमा पारेर नराम्रा कुरालाई बाहिर ल्याईदैछ । यस्तो खालको सोच र राजनीतिले हाम्रो समाजलाई नै ‘नकारात्मकता’ तिर ढकेल्दैछ । हामीमा जसले जस्तो सुकै राम्रो काम गरे पनि त्यसको नराम्रो खोतल्ने ‘सोच’ को विकास हुँदैछ । यसले कालान्तरमा हामी, हाम्रो समाज र नयाँ पिँढीलाई नै असर गर्नेछ ।

मेरो आँखा फरफराउनु र प्रकाशको निधन हुनुमा कुनै तात्पर्य नहोला । तर, यति बेला प्रकाशको अस्तु बागमतीमा बगिरहँदा मेरो आँखा फरफराउन छाडेको छ । राजनीतिलाई फोहोरी खेल भन्दै माईक्रोमा प्रचण्डलाई ‘खुच्चिङ’ भन्नेहरुलाई के थाहा की, प्रकाशका परिवार त्यही ‘फोहरी खेल’ लाई सफा गर्न राजनीतिमा आएका थिए । हार्दिक श्रद्धाञ्जली, प्रकाश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =